विजिएण्ट्स ग्रुपद्वारा बुटवलमा दोस्रो शाखा विस्तार, सुनचाँदी व्यवसायीलाई फ्रेन्चाइज मोडलमा आबद्ध गरिने

बुटवल। परम्परागत सुनचाँदी व्यवसायको संरक्षण,संवर्द्धन तथा समयानुकूल आधुनिकीकरण गर्ने उद्देश्यसहित सामूहिक लगानीमा सञ्चालित विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसिन नेशनल ट्रेड सेभिङ्ग ग्रुप लिमिटेड (विजिएण्ट्स ग्रुप) कम्पनीले शुक्रबार आफ्नो छैटौँ वर्षको यात्रा पूरा गर्दै बुटवलमा दोस्रो शाखाको औपचारिक उद्घाटन गरेको छ।

बुटवलको व्यस्त व्यापारिक क्षेत्र अमरपथमा स्थापना भएको विजिएण्ट्स ग्रुप कम्पनीको दोस्रो शाखा उद्घाटन नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तथा कम्पनीका प्रमुख संरक्षक अर्जुन रसाईलीले गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रसाईलीले विजिएण्ट्स ग्रुपको अवधारणा परम्परागत सुनचाँदी व्यवसायलाई संरक्षण गर्दै आधुनिक व्यावसायिक प्रणालीमार्फत थप प्रतिस्पर्धी र व्यवस्थित बनाउने लक्ष्यसहित अघि बढाइएको बताउनुभयो।

कम्पनीले व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राखेर क्रमशः आफ्नो कार्यक्षेत्र विस्तार गरिरहेको उल्लेख गर्दै आगामी दिनमा सुनचाँदी व्यवसायीहरूको आर्थिक तथा व्यावसायिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले सार्वजनिक कम्पनी सञ्चालन विश्वव्यापी रूपमा चुनौतीपूर्ण विषय भए पनि विजिएण्ट्स ग्रुपले ती चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गर्दै उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो ।

उहाँले कम्पनीले निर्धारण गरेका लक्ष्यहरू समयमै पूरा गर्दै व्यवसायीहरूले कानुनी तथा नीतिगत रूपमा भोगिरहेका समस्याको समाधानमा समेत विजिएण्ट्स ग्रुपले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विजिएण्ट्स ग्रुपका अध्यक्ष चेतनारायण विश्वकर्मा (विष्णु) ले कम्पनीले विभिन्न चुनौतीहरू पार गर्दै बुटवलमा दोस्रो शाखा सञ्चालनमा ल्याउन सफल भएको जानकारी दिनुभयो।

उहाँका अनुसार निकट भविष्यमा कम्पनीले फ्रेन्चाइज मोडलमार्फत चितवन, काठमाडौं, पोखरालगायत देशका प्रमुख सहरहरुमा शाखा विस्तार गर्ने योजना रहेको छ।

उहाँले फ्रेन्चाइज प्रणाली लागू भएपछि कम्पनी कुनै सीमित समूहमा मात्र केन्द्रीत नरही सम्पूर्ण सुनचाँदी व्यवसायीका लागि खुला रहने स्पष्ट पार्नुभयो।

व्यवसायको संरक्षण,प्रवर्द्धन तथा संस्थागत विकासमा योगदान पुर्‍याउन चाहने सबै व्यवसायीलाई विजिएण्ट्स ग्रुपमा आबद्ध हुन कम्पनीको ढोका खुला रहेको जानकारी पनि दिनुभयो।

उद्घाटन समारोहमा नेपाल सुनचाँदी व्यवसायी महासंघ, प्रदेश महासंघ तथा जिल्ला तहका पदाधिकारी, सुनचाँदी व्यवसायी, विजिएण्ट्स ग्रुपका पदाधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय