बुटवल । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३औँ तथा १४औँ वार्षिक साधारणसभाका लागि देशभरबाट करिब ७ सय सुनचाँदी व्यवसायी भोलि शनिबार बुटवलमा भेला हुने भएका छन्।
महासंघमा आबद्ध ८४ जिल्ला तथा नगर संघ, वस्तुगत संघ, २३ एसोसिएट सदस्य, प्रतिनिधि तथा पर्यवेक्षकहरू साधारणसभामा सहभागी हुने महासंघले जनाएको छ। महासंघका केन्द्रीय पदाधिकारीहरू बुटवल पुगिसकेको र साधारणसभाका सम्पूर्ण तयारी पूरा भएको जानकारी महासंघले दिएको छ।
आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष अर्जुन रसाईलीले साधारणसभामा व्यवसायीहरूको हकहित, सुनको माग तथा आपूर्ति व्यवस्थापन, सुनचाँदी कालिगढहरूको सीप विकास तथा स्वदेशमै रोजगारी र व्यवसायमा टिकाइराख्ने विषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो।
अध्यक्ष रसाईलीले सुनचाँदी व्यवसाय नेपाली संस्कृति, परम्परा र सभ्यतासँग अभिन्न रूपमा जोडिएको क्षेत्र भएकाले यसको संरक्षण, प्रवर्द्धन तथा व्यवसायको दिगो विकासका लागि महासंघ निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो। उहाँले सीप प्रवर्द्धनका नाममा लगाइने करका कारण उपभोक्तामाथि अतिरिक्त आर्थिक भार नपर्ने गरी नीतिगत सुधारका लागि महासंघले पहल गरिरहेको धारणा पनि व्यक्त गर्नुभयो।
पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा साधारणसभा मूल समारोह समितिका संयोजक दियेशरत्न शाक्यले साधारणसभाको तयारी, व्यवस्थापन तथा कार्यक्रमका विविध पक्षबारे जानकारी गराउँदै सम्पूर्ण सहभागीलाई सभ्य, व्यवस्थित र कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो।
यसैगरी, महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाइ बज्राचार्य तथा प्रवक्ता जीवनज्योति विश्वकर्माले पनि महासंघका गतिविधि, व्यावसायिक चुनौती तथा आगामी कार्यदिशाबारे आ-आफ्नो धारणा राख्नुभयो।
महासंघका अनुसार वार्षिक साधारणसभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले गर्नुहुने कार्यक्रम रहेको छ।
उद्घाटन सत्रमा नेपाल सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, नेपाल सरकारका सचिवहरू, विभिन्न सरकारी निकायका महानिर्देशकहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका पदाधिकारीहरूको सहभागिता रहने महासंघका केन्द्रीय सदस्य दीपक विश्वकर्माले जानकारी दिनुभयो।
उद्घाटन सत्र सम्पन्न भएपछि बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा अध्यक्ष, महासचिव तथा कोषाध्यक्षबाट वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने, लेखापरीक्षक नियुक्ति गरिने तथा समसामयिक एजेन्डामाथि विस्तृत छलफल गरी आवश्यक निर्णयहरू गरिने कार्यक्रम रहेको महासंघले जनाएको छ।




