चितवन। सुनचाँदी व्यवसायी महिला समूह चितवनले राष्ट्रिय दलित पत्रकार संघ, नेपालका नवनिर्वाचित केन्द्रीय सदस्य, विश्वकर्मा सेवा समिति चितवन तथा धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई शनिबार आयोजित विशेष कार्यक्रममार्फत बधाई तथा शुभकामना ज्ञापन गरेको छ।
समूहकी अध्यक्ष कल्पना गोतामेको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । समूहले कार्यक्रममा विभिन्न संस्थामा निर्वाचित प्रतिनिधिहरूलाई सम्मानसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
कार्यक्रमको स्वागत मन्तव्य समूहकी सदस्य पशुपति सेन्चुरीले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका नवनिर्वाचित केन्द्रीय सदस्य अमिर रामदाम, विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष प्रेमकुमार सुनार तथा धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चका अध्यक्ष उत्सव खाती विश्वकर्माले आ-आफ्नो मन्तव्य राख्दै सम्मानप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा सामाजिक, व्यावसायिक तथा संस्थागत हितका लागि जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
कार्यक्रममा सुनचाँदी व्यवसायी महिला समूह चितवनकी संस्थापक अध्यक्ष ऋतु सेन्चुरी तथा धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चका संस्थापक अध्यक्ष भीमप्रसाद विश्वकर्माको समेत विशेष आतिथ्यता रहेको थियो। उहाँहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै संस्थाहरूबीचको सहकार्य, एकता र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
प्रमुख अतिथि हेमबहादुर विश्वकर्माले विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा निर्वाचित भएका व्यक्तिहरूले आफ्नो जिम्मेवारी इमानदारी, पारदर्शिता र समर्पणका साथ निर्वाह गर्दै समाजको समग्र हितमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले महिला समूहले आयोजना गरेको यस्तो सम्मान तथा शुभकामना कार्यक्रमले संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्नुभयो।
कार्यक्रमको सञ्चालन समूहकी महासचिव मन्जु विश्वकर्माले गर्नुभएको थियो भने समापन समूहकी वरिष्ठ उपाध्यक्ष सरिता भट्टराई घतानेले धन्यवाद ज्ञापनसहित गर्नुभएको थियो।






