काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औँ र १४ औँ वार्षिक साधारण सभालाई भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यले गठित मूल समारोह समितिको बैठक शुक्रबार काठमाडौंको नक्सालस्थित महासंघको सचिवालयमा सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष अर्जुन रसाइलीको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी वार्षिक साधारण सभाको समग्र तयारी, व्यवस्थापन, कार्यक्रम सञ्चालन तथा समन्वयका विविध पक्षमा विस्तृत छलफल गरिएको थियो । साधारण सभालाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन आवश्यक तयारीलाई तीव्रता दिने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा महासंघका पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, मूल समारोह समितिका पदाधिकारी तथा सम्बन्धित उपसमितिका संयोजक एवं सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सफल आयोजनाका लागि विभिन्न उपसमितिको कार्यप्रगति समीक्षा गर्दै बाँकी तयारीलाई समयमै सम्पन्न गर्ने, जिम्मेवारीलाई थप स्पष्ट बनाउने तथा आवश्यक समन्वयलाई प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष एवं मूल समारोह समितिका संयोजक दियेशरत्न शाक्यले जानकारी दिनुभयो ।
नेपालभरका सुनचाँदी व्यवसायीहरूको साझा छाता संगठनका रूपमा रहेको महासंघले आयोजना गर्न लागेको १३औँ र १४औँ वार्षिक साधारण सभा आगामी २०८३ साउन १६ गते शनिबार लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न हुँदैछ । साधारण सभामा देशभरका जिल्ला तथा नगर संघका प्रतिनिधि, व्यवसायी, तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
महासंघले यस साधारण सभामार्फत संगठनको भावी कार्यदिशा तय गर्नुका साथै व्यवसायको विकास, व्यवसायिक एकता, पारदर्शिता तथा सुनचाँदी व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने विश्वास लिइएको छ ।



