कावासोती । नवलपुर सुनचाँदी व्यवसायी संघ, नवलपरासी (बर्दघाट-सुस्तापूर्व), गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोह शुक्रबार कावासोतीस्थित पानस ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले सुनचाँदी व्यवसायीका लागि बहुप्रतिक्षित व्यवसायी निर्देशिका अन्तिम चरणमा पुगेको बताउँदै छिट्टै सार्वजनिक हुने जानकारी दिनुभयो। निर्देशिका कार्यान्वयनका लागि सबै व्यवसायीलाई केही समय धैर्य गर्न उहाँले आग्रह गर्नुभयो।
महासंघको गत महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार हुँदा सार्वजनिक गरिएको ३२ बुँदे प्रतिबद्धतामध्ये २२ वटा बुँदा पूरा गरिसकेको दाबी गर्दै अध्यक्ष रसाईलीले महासंघ प्रचारमुखीभन्दा काममुखी ढंगले अघि बढिरहेको बताउनुभयो। “हामी सामाजिक सञ्जालमा प्रचार गर्नेभन्दा काम गरेर देखाउने पक्षमा छौं,” उहाँले भन्नुभयो।
महासंघलाई संस्थागत रूपमा अझ सुदृढ बनाउने उद्देश्यले आफ्नै कार्यकालमा महासंघको अत्याधुनिक भवन निर्माण गरिने जानकारी दिँदै उहाँले सुनचाँदी व्यवसायलाई समयानुकूल बनाउन डिजिटलाइजेशनको अवधारणा पनि अघि बढाइएको बताउनुभयो। सुनको आपूर्ति व्यवस्थापनसँग जोडिएको कोटा प्रणाली कुनै पनि अवस्थामा खारेज नहुने स्पष्ट पार्दै उहाँले व्यवसायीका हकहितको संरक्षणमा महासंघ दृढतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य मोहनकुमार सुनारले सुनचाँदी व्यवसाय प्रतिष्ठा, विश्वास र नैतिकतामा आधारित क्षेत्र भएकाले सबै व्यवसायी अनुशासित, जिम्मेवार र मर्यादित भएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक विपिन रामुदामुले व्यवसायी र कालिगढ समुदायका हरेक सुख-दुःखमा आफू सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीका अधिकार र हितका लागि निरन्तर संघर्ष गर्ने बताउनुभयो।
उद्घाटन समारोहमा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जीवनज्योति विश्वकर्मा, गण्डकी प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतम, केन्द्रीय सदस्य ऋतु विश्वकर्मा, स्थायी आमन्त्रित सदस्य होमबहादुर वि.क., स्वकीय प्रेस सल्लाहकार अमिर रामदामलगायत महासंघका पदाधिकारी, विभिन्न जिल्लाका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा नवलपुर जिल्लाको सुनचाँदी व्यवसायको विकास, विस्तार र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएका अग्रज व्यवसायीहरूलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रम संघका अध्यक्ष राजु शाहसंकरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उद्घाटन समारोह सम्पन्न भएपछि संघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनअन्तर्गत बन्दसत्र सञ्चालन भइरहेको संघले जनाएको छ। बन्दसत्रमा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, भावी कार्ययोजना, सांगठनिक विषय तथा नयाँ नेतृत्व चयनसम्बन्धी प्रक्रिया अघि बढाइने कार्यक्रम रहेको छ।




