मञ्चको कार्यशाला गोष्ठी सम्पन्न

चितवन। धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको दुई वर्षे रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ।

मञ्चका अध्यक्ष उत्सव खाती वि.क. को अध्यक्षतामा क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा सम्पन्न कार्यशाला गोष्ठीमा मञ्चका संरक्षक टुलक प्रसाद विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। संस्थाको दिगो विकासका लागि स्पष्ट रणनीति, सशक्त नेतृत्व, पारदर्शी कार्यशैली र सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको प्रमुख अतिथि विश्वकर्माले बताउनुभयो। उहाँले रणनीतिक योजना संस्थाको मार्गचित्र भएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा सबैको साझा प्रतिबद्धता आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो। कार्यशाला गोष्ठीमा प्रमुख अतिथि विश्वकर्माले प्रमुख  सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।

कार्यशाला गोष्ठीमा मञ्चका संस्थापक अध्यक्ष एवं संरक्षक भीमप्रसाद वि.क., संस्थापक महासचिव एवं संरक्षक अमिर रामदाम तथा निवर्तमान अध्यक्ष लालबहादुर विश्वकर्माको आतिथ्यता रहेको थियो। संस्थापक महासचिव एवं संरक्षक अमिर रामदामले कार्यशाला गोष्ठीमा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।

कार्यक्रमका संयोजक तथा मञ्चका कोषाध्यक्ष जीवन विश्वकर्माले कार्यक्रमको उद्देश्य, आवश्यकता तथा तयारीबारे जानकारी गराउनुभएको थियो। कार्यशालामा मञ्चका पदाधिकारी, कार्यसमिति सदस्य तथा सहभागीहरूले संस्थाको आगामी दुई वर्षका लागि संगठन विस्तार, सदस्यता अभिवृद्धि, क्षमता विकास, आर्थिक सुदृढीकरण, सामाजिक उत्तरदायित्व तथा समुदायमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समूहगत छलफल गरी महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो।

मञ्चका अध्यक्ष वि.क. ले कार्यशाला गोष्ठीबाट प्राप्त सुझाव र निष्कर्षलाई समेटेर मञ्चको दुई वर्षे रणनीतिक योजना अन्तिम रूप दिई प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय