काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले सुनचाँदी व्यवसायलाई आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘रूपान्तरण सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ ।
संघले सदस्य व्यवसायीहरूको व्यावसायिक ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित ‘व्यवसायलाई प्रविधि र नवप्रवर्तनमार्फत सशक्त बनाऔं, सिकाऔं, अपनाऔं, बढाऔं’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । संघले सबै सदस्य व्यवसायीलाई कार्यक्रममा समयमै उपस्थित भई सहभागिता जनाउन अनुरोध गरेको छ।
सम्मेलनमा सुनचाँदी व्यवसायसँग सम्बन्धित समसामयिक तथा व्यावहारिक विषयमा विज्ञहरूको प्रस्तुति रहनेछ । कार्यक्रमअन्तर्गत लक्जरी शुल्क, भ्याट तथा शिप प्रबन्ध शुल्कसम्बन्धी वर्तमान अवस्था, व्यवसायमैत्री हिसाब-किताब तथा स्टक व्यवस्थापनका व्यावहारिक पक्ष, कर तथा व्यवसाय व्यवस्थापनसम्बन्धी जिज्ञासाको समाधान, ई-बिलिङ सफ्टवेयरको डेमो प्रस्तुति तथा डिजिटल मार्केटिङ, साथै सुनचाँदीको दैनिक दर (रेट) र सुन खरिद-बिक्री एप निःशुल्क वितरण गरिनेछ ।
संघका अनुसार सम्मेलन असार १३ गते शनिबार काठमाडौंको नयाँ बजारस्थित सासा ब्याङ्क्वेटमा आयोजना हुनेछ। कार्यक्रम बिहान ८ः१५ बजेदेखि सुरु हुनेछ।
संघले यस प्रकारका कार्यक्रमले व्यवसायीलाई नयाँ प्रविधि, कर प्रणाली, डिजिटल व्यवस्थापन तथा व्यवसाय सञ्चालनका आधुनिक अभ्यासबारे जानकारी दिई सुनचाँदी व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।




