काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुटवलको तिनाउ सुनचाँदी पसलमा भएको चोरीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।महासंघले देशभर सुनचाँदी व्यवसायसँग सम्बन्धित चोरी, डकैती तथा लुटपाटका घटनाहरू बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको अवस्थामा पुनः ठूलो चोरीको घटना भएको उल्लेख गरेको छ।
महासंघद्वारा जारी प्रेस विज्ञप्ति अनुसार २०८३ जेठ १७ गते राति बुटवल-४ स्थित दीपक वि.क.ले सञ्चालन गर्दै आउनु भएको तिनाउ सुनचाँदी पसलमा चोरी भएको हो। चोरहरूले सटरको चाबी फोडी, पसलभित्र रहेको लकर खोलेर करिब ५८ तोला सुनका विभिन्न गरगहना, ५ केजी चाँदी तथा नगद रकम चोरी गरेको जनाइएको छ।
महासंघले सुनचाँदी व्यवसायजस्तो संवेदनशील क्षेत्रमा यस्ता चोरीजन्य घटनाहरू बारम्बार दोहोरिनु अत्यन्त चिन्ताजनक भएको जनाएको छ। यस्ता घटनाका कारण व्यवसायीहरू असुरक्षित महसुस गर्न बाध्य भएको र व्यवसायबाट विस्थापित तथा पलायन हुने अवस्था सिर्जना हुन सक्ने महासंघको भनाइ छ।
महासंघका प्रवक्ता जीवनज्योति विश्वकर्माद्वारा जारी विज्ञप्तिमा बुटवलजस्तो व्यावसायिक केन्द्रमा भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी चोरी भएको बहुमूल्य गरगहना तथा धनमाल यथाशीघ्र बरामद गर्न र दोषीलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरिएको छ।
साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुनचाँदी व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्दै व्यवसाय सञ्चालनका लागि सुरक्षित वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग महासंघले जोडदार आग्रह गरेको छ।



