काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले व्यवसायीहरूको सुझाव, गुनासो तथा धारणा संकलनलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले QR Feedback System सहितको “व्यावसायिक सहायता कक्ष (Help Desk)” सञ्चालनमा ल्याएको छ ।
महासंघले सुरु गरेको उक्त प्रणालीमार्फत अब व्यवसायी, कालिगढ, उपभोक्ता तथा सदस्यहरूले आफ्नो मोबाइलबाटै सहज रूपमा महासंघसम्म प्रतिक्रिया पठाउन सक्ने भएका छन् । महासंघका अनुसार प्राप्त सुझाव तथा गुनासोहरूलाई सुनचाँदी, रत्न तथा आभुषण क्षेत्रसँग सम्बन्धित हकहित, समस्या समाधान तथा नीतिगत विषय सम्बन्धित सरकारी निकायसमक्ष प्रभावकारी रूपमा उठान गर्न उपयोग गरिनेछ ।
यस प्रणाली प्रयोग गर्न मोबाइल फोनको क्यामेरा प्रयोग गरी QR Code स्क्यान गर्नुपर्ने व्यवस्था गरिएको छ । QR स्क्यान गरेपछि स्वतः खुल्ने Feedback Form मा आफ्नो नाम, सम्पर्क विवरण तथा सुझाव वा गुनासो उल्लेख गरी Submit गरेपछि उक्त Feedback महासंघको आधिकारिक हेल्प डेस्कमा तुरुन्तै प्राप्त हुने महासंघले जनाएको छ ।
महासंघले सुरक्षित तथा व्यवस्थित व्यापारिक वातावरण निर्माण गर्न आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्पूर्ण व्यवसायी, कालिगढ, उपभोक्ता तथा सदस्यहरूलाई आफ्ना अनुभव, प्रतिक्रिया तथा सुझावहरू QR Feedback System मार्फत पठाइदिन अनुरोध गरेको छ ।
महासंघको यो डिजिटल पहलले व्यवसायी र महासंघबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको अध्यक्ष किसान सुनारले जानकारी दिनुभयो ।




