सुनचाँदी व्यवसायीका समस्या समाधान गर्न अर्थमन्त्रीसँग महासंघको आग्रह

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेसँग आग्रह गरेको छ।

महासंघका अध्यक्ष अर्जुन रसाईलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्लेसँग भेट गर्दै व्यवसायीका माग र समस्याबारे ध्यानाकर्षण गराएको हो।

भेटका क्रममा महासंघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर तत्काल खारेज गर्न माग गरेको छ। साथै, भन्सार दरलाई भारतसँग मिल्दोजुल्दो बनाउन, कच्चा पदार्थको आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन, स्वदेशी गहनालाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्न तथा चाँदी आयात व्यवस्थालाई सहज र व्यवस्थित बनाउन आग्रह गरिएको महासंघले जनाएको छ।

महासंघले यसअघि व्यवसायीहरूसँग भएका सहमति तथा निर्णयहरू कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

अर्थमन्त्री वाग्लेले व्यवसायीहरूको गुनासो र सुझावलाई गम्भीरतापूर्वक लिएको बताउँदै आगामी बजेटमार्फत उचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भेटमा महासंघका अध्यक्ष रसाईलीसँगै वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य तथा महानिर्देशक शिव दुवाडीको उपस्थिति रहेको थियो।

यसअघि पनि महासंघको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयअन्तर्गतको राजस्व परामर्श समितिको छलफलमा सहभागी हुँदै आफ्ना धारणा प्रस्तुत गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय