निराधार, पूर्वाग्रही र भ्रामक विरोधले कसैको पनि हित गर्दैन

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ कुनै एक व्यक्ति, समूह वा सीमित स्वार्थबाट निर्देशित संस्था होइन। यो देशभरका विभिन्न संघ-संस्थाहरूको साझा प्रतिनिधित्व, सहकार्य र एकताबाट निर्माण भएको जिम्मेवार छाता संगठन हो । जसले समग्र सुनचाँदी व्यवसाय क्षेत्रको हकहित, अधिकार, मर्यादा र दीर्घकालीन स्थायित्वको रक्षा गर्ने उद्देश्य राख्दछ। महासंघको मूल मर्म नै व्यवसायीहरूबीच एकता कायम गर्दै सामूहिक आवाजलाई सशक्त बनाउनु हो।

तर, पछिल्लो समय केही व्यक्तिहरूबाट महासंघका काम, उपलब्धि र प्रयासहरूलाई नजरअन्दाज गर्दै निरन्तर विरोध गर्ने, भ्रम फैलाउने तथा अपूर्ण वा एकपक्षीय जानकारीका आधारमा नकारात्मक धारणा निर्माण गर्ने प्रवृत्ति देखिन थालेको छ। “गिद्दे नजर” ले हेर्दा राम्रो पक्ष कहिल्यै देखिँदैन भन्ने यथार्थ हामीले बुझ्न आवश्यक छ। केवल कमजोरी खोज्ने दृष्टिकोणले न त संस्थालाई बलियो बनाउँछ, न त समग्र क्षेत्रलाई अघि बढाउँछ।

महासंघले आफ्नो स्थापना कालदेखि नै व्यवसायीहरूको हकहितको संरक्षण र प्रवर्द्धनका लागि निरन्तर संघर्ष, पहल र नेतृत्व गर्दै आएको छ। व्यवसायीका लागि नीति-नियम निर्माण गर्न पटक-पटक पहल गरेको छ। तर अस्थिर सरकारका कारण ती नीतिहरू कार्यान्वयनमा आउन सकेनन्। हालको सरकारबाट हाम्रो मागहरू सम्बोधन हुने अपेक्षा राख्दै महासंघको प्रयास निरन्तर जारी छ।

विशेषगरी नेपाल सरकारद्वारा लागू गरिएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको विषयमा महासंघले निरन्तर रूपमा आवाज उठाउँदै आएको छ। यो केवल औपचारिक विरोधमा सीमित नभई विभिन्न चरणमा आन्दोलन, वार्ता, छलफल, दबाबमूलक कार्यक्रम र संयुक्त पहलहरू सञ्चालन गरिएको कुरा सर्वविदितै छ। यद्यपि महासंघ निष्क्रिय छैन आन्दोलन रोकेको होइन,
केवल परिस्थितिअनुसार स्थगन गरिएको मात्र हो।आवश्यक परेमा पुनः सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता महासंघले गरेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र सरकारबीच भएको १२ बुँदे सहमति प्रभावकारी रूपमा कार्यान्वयन भएमा सुनचाँदी व्यवसायका अधिकांश समस्याहरू समाधान हुने विश्वास हामीले लिएका छौ । संयुक्त महासंघको पहलमा सरकार र सरोकारवाला पक्षबीच भएको सहमतिअनुसार सुनचाँदी तथा रत्न व्यवसायलाई व्यवस्थित, पारदर्शी र व्यवसायमैत्री बनाउन विभिन्न सुधारका उपाय तय गरिएका छन्।

मुख्य रूपमा विलासिता करलाई एक तहमा सीमित गर्ने, हिरा-रत्नमा लाग्दै आएको भ्याट खारेज गर्ने, विगतका कर मिनाहा गर्ने, कर प्रणाली र विजक प्रक्रियालाई स्पष्ट बनाउने सहमति भएको छ। त्यसैगरी पुराना गरगहनाको कानुनी खरिद प्रक्रिया निर्धारण, भन्सार दर समायोजन, वैदेशिक रोजगारीबाट आउने सुनलाई सहज बनाउने, तथा सुनचाँदी क्षेत्रलाई नियमन गर्न छुट्टै कानुन ल्याउने निर्णय गरिएको छ।

सुन आयात तथा वितरणसम्बन्धी व्यवस्था परिमार्जन गर्ने, बैंकमार्फत सहज उपलब्धता सुनिश्चित गर्ने, निर्यात प्रवर्द्धनका लागि वण्डेड वेयरहाउस सुविधा कार्यान्वयन गर्ने सहमति पनि गरिएको छ । सुनचाँदी तथा रत्न व्यवसायको दीगो विकास र बजार प्रवर्द्धनका लागि “नेपाल जेम एण्ड ज्वेलरी काउन्सिल” स्थापना गर्ने दिशामा सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम अघि बढाउने सहमति भएको छ।

हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने व्यवसायीहरूबीचको विभाजन, अनावश्यक विवाद र एकअर्काप्रति अविश्वासले अन्ततः हाम्रो आफ्नै क्षेत्रलाई कमजोर बनाउँछ। बाह्य चुनौतीहरूको सामना गर्नुपर्ने अवस्थामा आन्तरिक एकता झन् आवश्यक हुन्छ। यस्तो अवस्थामा निरन्तर विरोध, आलोचना र नकारात्मकता फैलाउनु समाधान होइन, समस्या थप जटिल बनाउने कारक हो।

त्यसैले, सम्पूर्ण व्यवसायी, संघ-संस्था र सरोकारवाला महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौं । तथ्य, यथार्थ र महासंघले गरेका कामहरूलाई समग्र रूपमा मूल्याङ्कन गरी सकारात्मक सोचका साथ अघि बढ्नुहोस्। स्वस्थ, तथ्यमा आधारित र रचनात्मक आलोचना सधैं स्वागतयोग्य छ, किनकि त्यसले संस्थालाई अझ मजबुत बनाउँछ। तर, निराधार, पूर्वाग्रही र भ्रामक विरोधले कसैको पनि हित गर्दैन।

महासंघ सधैं पारदर्शिता, जवाफदेहिता र संवादमा विश्वास गर्ने संस्था हो। यहाँहरूको कुनै जिज्ञासा, सुझाव वा असन्तुष्टि भएमा खुला रूपमा महासंघसँग समन्वय गरी समाधान खोज्न सकिन्छ। सहकार्य, समझदारी र एकताको माध्यमबाट मात्र हामी हाम्रो व्यवसायलाई सुरक्षित, मर्यादित र समृद्ध बनाउन सक्षम हुनेछौं।

सबैको साथ, सहयोग र सकारात्मक दृष्टिकोणबाट सुनचाँदी व्यवसाय क्षेत्रलाई अझ सशक्त, व्यवस्थित र सम्मानित बनाउने हाम्रो साझा लक्ष्यमा साथ दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं।

– लेखक नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय