काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको १२ औं वार्षिक साधारण सभा तथा बिजनेस म्याचिङ कार्यक्रम-२०८३ शनिबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं प्रतिनिधि सभा सदस्य माननीय भीष्मराज आङ्देम्बे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्देम्बेले नेपाली मौलिक गहना निर्माणमा संलग्न कालिगढहरूको सीपलाई राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताउनु भयो । महासंघका अध्यक्ष किसान सुनारले व्यवसायीहरूका विद्यमान समस्याहरू र महासंघको आगामी कार्यदिशाबारे प्रकाश पार्दै कच्चा पदार्थको सहज उपलब्धता तथा निकासी प्रवर्द्धनका लागि सरकारले उदार नीति अवलम्बन गर्नुपर्ने माग गर्नुभयो।
साधारण सभाको अवसरमा सुनचाँदी क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट कालिगढतर्फ डम्बर रिजाल (मौलिक गरगहना निर्माणमा योगदान गरेबापत), उत्कृष्ट महिला उद्यमीतर्फ मनु दियाली, उत्कृष्ट संस्थातर्फ नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ, कास्की, र उत्कृष्ट प्रदेश महासंघतर्फ नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, लुम्बिनी प्रदेशलाई सम्मान प्रदान गरिएको थियो। कार्यक्रम महासचिव निर बहादुर विश्वकर्माले सञ्चालन गर्नुभएको थियो।







