काठमाडौं । प्रतिनिधि सभा सदस्य माननीय खगेन्द्र सुनारलाई नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार स्वागत तथा सम्मान गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उहाँलाई पहिलो पटक महासंघको सचिवालय नक्सालमा अध्यक्ष अर्जुन रसाईलीले स्वागत तथा सम्मान गर्नुभएको हो ।
उहाँले सुनचाँदी व्यवसायीहरूको समस्यालाई सडकबाट नै पहिला देखि जागरुक तबरले उठाउँदै आउनुभएको थियो ।
सुनचाँदी व्यवसायीको हितका लागि आफूले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले विगतमा पनि आफूले व्यवसायीहरुको हक अधिकारको संरक्षणका लागि पहल कदमी लिँदै आएको उल्लेख गर्दै अब पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा महासंघका अध्यक्ष रसाईलीले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट नीति नहुँदा आम व्यवसायीले कठिनाई झेल्नु परेको उल्लेख गर्दै सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी नीति निर्माण गर्न आवश्यक रहेको भन्दै सो कार्यमा सहयोग गर्न उहाँसंग आग्रह गर्नुभयो ।
अध्यक्ष रसाईलीले चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको विलाशिता शुल्क खारेज गर्न, भन्सार शुल्कलाई छिमेकी मुलुकसरह मिल्दोजुल्दो बनाउन र कच्चा पदार्थको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको महासंघका महानिर्देशक शिव दुवाडीले जानकारी दिनुभयो।
भेटका क्रममा सांसद सुनारको सचिवालयका सदस्यहरुको साथै महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदीप श्रेष्ठ, सदस्यहरु हेमराज शाक्य, प्रकाश शाक्य, रत्नसुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो ।






