चितवन (खैरहनी) । चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनको नवौं वार्षिक साधारण सभा आज (सोमबार) सम्पन्न भएको छ।
साधारण सभामा सुनचाँदी व्यवसायीहरूले सुनमा लगाइएको विलासिता शुल्क र रत्न तथा पत्थर जडित गरगहनामा लगाइएको मूल्य अभिवृद्धि कर यथाशीघ्र खारेज गर्नुपर्ने सशक्त माग राखेका छन् । जथाभावी करको कारण सुनचाँदी व्यवसायीहरू धराशायी बन्दै गएको बताएका छन् ।
साधारण सभालाई समुद्घाटन गर्दै प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले सुनचाँदी व्यवसायमा देखिएका चुनौतीलाई समाधान गर्न व्यवसायीबीचको एकता, पारदर्शिता र प्रविधिमैत्री अभ्यास अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्त रूपमा आगामी आर्थिक वर्षमा विलासिता शुल्क र भ्याट पूर्ण रूपमा खारेजी हुनुपर्ने मागसहित ३४ बुँदे लिखित सुझाव सरकारलाई बुझाएको जानकारी दिनुभयो ।
जेन-जी आन्दोलन र निर्वाचनका कारण यसअघिको १२ बुँदे सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको समेत उहाँले बताउनुभयो । यदि वर्तमान सरकारले पनि सुनचाँदी व्यवसायीहरूको मागलाई स-सम्मान कार्यान्वयन नगरेमा व्यवसायिक आन्दोलनको लागि तयार रहन उहाँले सबैलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो “हामीले आन्दोलन फिर्ता लिएको होइनौ, केबल स्थगन मात्र गरेका हौं ।”
उहाँले व्यवसायीहरूको समस्या समाधानका निमित्त प्रदेशस्तरीय हेल्प डेस्क राख्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो ।
साधारण सभामा महासंघका तृतीय उपाध्यक्ष एवं चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनका संस्थापक अध्यक्ष प्रेम खातीले बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, मूल्य असमानता र करको दोहोरो भारले व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै “विलासिता कर र भ्याटले साना तथा मध्यम व्यवसायीलाई विस्थापनको जोखिममा पारेको छ,” भन्नुभयो। उहाँले कर प्रणाली सरलीकरण र एकरूपता आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी महासचिव निरबहादुर विश्वकर्मा (बिमल)ले सुनचाँदी व्यवसायमा कर सम्बन्धी जटिलता, अनियन्त्रित आयात तथा गुणस्तर नियमनका चुनौतीहरू समाधानका लागि महासंघ सरकारसँग निरन्तर संवादमा रहेको जानकारी दिनुभयो। उहाँले “व्यवसायीमैत्री नीति नबनाएसम्म व्यवसायको दिगोपन सुनिश्चित हुन सक्दैन,” भन्दै कर सुधार अपरिहार्य रहेको बताउनुभयो।
संघका अध्यक्ष विष्णु सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासंघका कोषाध्यक्ष गणेश लकान्द्री, केन्द्रीय सदस्य सुरज रामदाम, सोम विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संघका सचिव जीवन विश्वकर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष दिलिप सुनारले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
संघका अध्यक्ष विष्णु सुनारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामकृष्ण सुनारले धन्यवाद ज्ञापनसहित समापन गर्नुभयो।









