सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशको साधारण सभा सम्पन्न, व्यवसाय सुदृढीकरणमा जोड

हेटौंडा । नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशको पाँचौं तथा छैटौँ वार्षिक साधारण सभा आज हेटौंडास्थित हिमालय दरबारमा भव्य रूपमा सम्पन्न भएको छ।

महासंघ बागमती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने महासचिव किरणभाई बज्राचार्य विशिष्ट अतिथि रहनुभएको थियो। त्यसैगरी सचिव टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जीवनज्योति विश्वकर्मा र सहकोषाध्यक्ष पद्मसुन्दर शाक्य विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाक्यले महासंघले विगतका वर्षहरूमा सुनचाँदी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको आधुनिकीकरण तथा नीति निर्माण तहमा प्रभावकारी पहल गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “महासंघले विलासिता शुल्क हटाउन विशेष पहल गरिरहेको छ ।”

विशिष्ट अतिथि किरणभाई बज्राचार्यले महासंघले व्यवसायीहरूको सहजता र समस्या समाधानलाई मध्यनजर गर्दै ‘हेल्प डेस्क’ स्थापना गरेको बताउनुभयो ।
उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “हेल्प डेस्कमार्फत व्यवसायीहरूलाई आवश्यक परामर्श, जानकारी तथा सहजीकरण सेवा प्रदान गरिनेछ, जसले व्यवसाय सञ्चालनलाई अझ सरल र व्यवस्थित बनाउनेछ।”

कार्यक्रममा अध्यक्ष ज्योतिरत्न बज्राचार्यले स्वागत मन्तव्य राख्दै प्रदेशभरका व्यवसायीहरूबीच समन्वय र सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रदेश सचिव सुसन शाक्यले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमेश बहादुर शाक्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि सहभागीहरूले छलफल गर्दै सुझावहरू दिएका थिए। विभिन्न जिल्लाबाट सहभागी अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्दै व्यवसायका समस्या, सम्भावना र समाधानका उपायहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन प्रदेश उपाध्यक्ष यमकुमार ल्वागुनले धन्यवाद मन्तव्यसहित गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय