सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको साधारण सभा सम्पन्न, राज्यको त्रुटिपूर्ण कर नीतिका कारण व्यवसायीलाई बोझ भयो

विराटनगर । नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको पाँचौ र छैटौँ वार्षिक साधारण सभा आज शनिबार विराटनगरमा सम्पन्न भएको छ ।

साधारण सभामा सुनचाँदी व्यवसायीहरूले राज्यको त्रुटिपूर्ण कर नीतिका कारण बोझ भएको बताएका छन्। सुनचाँदी व्यवसायीहरूले जथाभावी लादिएको करका कारण सुनचाँदी व्यवसाय धराशायी बन्दै गएको दाबी गरेका छन् ।

साधारण सभालाई उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले राज्य र व्यवसायी दुवैलाई समान हित हुने नीति ल्याउन महासंघले पहल गरिरहेको बताउनुभयो।

उहाँले विलासिता कर हटाउने विषयमा नीति निर्माण तहबाट सकारात्मक संकेत पाएको भन्दै छिट्टै त्यो हट्ने विश्वास व्यक्त गर्नुभयो ।

साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले व्यवसायीको पुँजी जतिसुकै भए पनि बैंकबाट एक पटकमा ५ लाख रुपैयाँ मात्र निकाल्न पाउने राष्ट्र बैंकको नीतिका कारण सुनचाँदीसहितका अन्य व्यवसायीहरूले समेत समस्या झेल्नुपरेको बताउनुभयो।

त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष मोहनकाजी शाक्यले सुनचाँदी व्यवसायलाई बहुमूल्य धातुका रूपमा सूचीकृत गराएर नगदमा २० लाख रुपैयाँसम्म कारोबार गर्न पाउने व्यवस्था बनाउनुपर्नेमा जोड दिनुभयो।

सभाको अध्यक्षता समेत गर्नुभएका नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष रमेश रसाईलीले करको बोझले व्यवसायी र व्यवसाय धराशायी हुँदै गएको बताउनुभयो। उहाँले व्यवसायी र व्यवसाय सुरक्षित हुने खालको नीति ल्याउन राज्यका निकायहरूमा दबाब दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो।

कार्यक्रममा कोशी प्रदेशका सचिव कुमार श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनोज अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय