लमही। नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशको पाँचौ र छैटौँ वार्षिक साधारण सभा आज शनिबार लमहीमा सम्पन्न भएको छ । साधारण सभामा सुनचाँदी व्यवसायीहरूले सुनचाँदीमा लगाइएको विलासिता कर आगामी आर्थिक वर्षदेखि हटाउन राज्यसँग माग गरेका छन्।
कार्यक्रममा वक्ताहरूले जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग हुने सुनचाँदीमा विलासिता कर लगाउँदा उपभोक्ता र व्यवसायी दुवै मारमा परेको गुनासो गरेका छन्।
व्यवसायीहरूले नयाँ सरकारले आगामी आर्थिक वर्षदेखी उक्त कर हटाउने व्यवस्था गर्न महासंघले आवाज उठाउनु पर्नेमा जोड दिएका छन् । साथै राज्यले आफुहरु लगानीको सुरक्षा गर्दै सहजरुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् ।
साधारण सभा लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुवकुमार गहतराजको अध्यक्षता एवम् महासंघका द्वितीय उपाध्यक्ष बुद्धि बहादुर वि.के. दियालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि दियालीले विलासिताको करका विरुद्धमा महासंघ उभिएको बताउनु भयो ।
उहाँले राज्यले सुनचाँदीमा विलासिताको कर लगाउनु उपयुक्त नभएको भन्दै विगतमा विरोध र आन्दोलनको कार्यक्रम समेत गरेको स्मरण गराउँदै राज्यले केहि सुधार गरेको बताउनु भयो । तर अझै पनि व्यवसायीका तमाम समस्या भएकाले यसमा राज्यले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
साथै उहाँले महासंघले विगत देखी नै व्यवसायीको हितको पक्षमा मुद्दा उठाउँदै आएको र वर्तमान सरकारसंग सुनचाँदी सम्बन्धी नयाँ नीति नियम बनाउनका लागी पहल गर्ने बताउनुभयो । यसका लागि सुनचाँदी व्यवसायीका जिल्ला,नगर र प्रदेश बीचमा सहकार्य र एकता हुन सके मात्रै महासंघले सरकारको ध्यानाकर्षण गराउन सक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै महासंघका कोषाध्यक्ष सुदीप श्रेष्ठले सुनचाँदी व्यवसायसँग सम्बन्धित छुट्टै ऐन निर्माणको आवश्यकता रहेको औंल्याउनु भयो । साथै उहाँले आवश्यक नीति तथा नियमको अभावका कारण व्यवसायीहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै यसका लागी महासंघले विगत देखी नै राज्यको ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।
कार्यक्रममा महासंघका प्रदेश सचिव हरिकृष्ण वि.क.ले प्रगति प्रतिवेदन र कोषाध्यक्ष परिवर्तन विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा लुम्बिनी प्रदेशले वर्ष २०८३ को टेबल क्यालेण्डर समेत सार्वजनिक गरेको थियो ।
कार्यक्रमको सहजीकरण प्रदेश सचिव हरिकृष्ण वि.क.ले गर्नुभएको थियो ।








