अर्थमन्त्रीलाई पर्सा सुनचाँदी व्यवसायी संघको ज्ञापनपत्र

वीरगञ्ज । पर्सा सुन चाँदी व्यवसायी संघले सुनचाँदी व्यवसायमा लागू गरिएको कर तथा नीतिगत व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल सरकारका अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा संघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुनको कारोबारमा लगाइएको २ प्रतिशत विलासिता कर तथा बहुमूल्य रत्न तथा पत्थरहरूमा लगाइएको १३ प्रतिशत भ्याटसम्बन्धी व्यवस्थाले व्यवसायीहरूलाई प्रत्यक्ष मारमा पारेको उल्लेख गरेको छ। यस्तो कर नीतिले व्यवसाय सञ्चालनमा जटिलता थप्नुका साथै बजारमा असन्तुलन सिर्जना भएको संघको भनाइ छ।

ज्ञापनपत्रमार्फत संघले सुनचाँदी व्यवसायलाई सहज र व्यवस्थित बनाउन विभिन्न मागहरू अघि सारेको छ। जसअनुसार सुनमा लगाइएको विलासिता कर तथा भ्याट पूर्ण रूपमा खारेज गर्नुपर्ने, सुनचाँदी कारोबारको सीमा वृद्धि गरिनुपर्ने तथा व्यवसाय सञ्चालनका लागि स्पष्ट नीतिगत मार्गनिर्देशन जारी गर्नुपर्ने माग गरिएको छ।

त्यसैगरी, सुन आयात तथा वितरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने, व्यवसायीहरूलाई अनावश्यक प्रशासनिक झन्झटबाट मुक्त गरिनुपर्ने र बजार स्थायित्व कायम राख्न प्रभावकारी नीति ल्याउनुपर्ने संघको जोड छ।

संघका अध्यक्ष भुलन प्रसाद सोनारले व्यवसायीहरूको हकहित संरक्षण तथा बजारलाई स्थिर बनाउन सरकारले तत्काल आवश्यक सुधारका कदम चाल्नुपर्ने बताएका छन्।

उक्त हस्तान्तरण कार्यक्रमको सहजीकरण नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य मनोज कुमार सर्राफले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय