सुनचाँदी व्यवसायी महासंघको निर्णय, प्रदेश महासंघहरूको साधारण सभा चैत २१ मा आयोजना हुँदै

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको मिति २०८२ माघ १६ गते सम्पन्न ११ औं कार्यसमिति बैठकले गरेको निर्णयअनुसार चैत २१ गते शनिबार देशभर एकसाथ प्रदेश महासंघहरूको साधारण सभा आयोजना हुँदैछ। प्रदेश महासंघहरूले निर्धारित समयभित्र साधारण सभा सम्पन्न गर्न तीब्र रूपमा तयारी गरिरहेका छन् ।

मधेश प्रदेशको चौथों, पाँचौँ र छैटौँ साधारण सभा बर्दिवासस्थित विनायक बैङ्क्वेटमा आयोजना हुने भएको छ। उक्त साधारण सभामा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिस पटेल प्रमुख अतिथिका रूपमा सहभागी हुने प्रदेश अध्यक्ष रामजी साहले जानकारी दिनुभयो ।

प्रदेश अध्यक्ष साहका अनुसार मधेश प्रदेश अन्तर्गत ८ वटा जिल्ला संघ र ५ वटा नगर संघहरू क्रियाशील रहेका छन् । साधारण सभामा प्रत्येक जिल्ला तथा नगर संघबाट ७ जना प्रतिनिधि र २ जना पर्यवेक्षक सहभागी हुने व्यवस्था रहेको प्रदेश अध्यक्ष साहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधि तथा पर्यवेक्षकका लागि प्रति व्यक्ति रु १,५०० शुल्क तोकिएको छ।

बागमती प्रदेशको पाँचौँ र छैटौँ साधारण सभा आयोजना हुने भएको छ। यहाँ ९ जिल्ला र २ नगर संघबाट प्रतिनिधित्व रहनेछ। प्रत्येक संघबाट ७ जना प्रतिनिधि र २ जना पर्यवेक्षक सहभागी हुने र प्रति व्यक्ति रु २,००० शुल्क निर्धारण गरिएको उपाध्यक्ष यमकुमार ल्वागुनले बताउनुभयो। तयारीका विषयमा चैत १९ गते प्रदेश महासंघको बैठक बस्ने प्रदेश उपाध्यक्ष ल्वागुनले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको पाँचौँ र छैटौँ साधारण सभा पोखरामा आयोजना हुने भएको छ । साधारणसभामा ९ जिल्ला संघबाट ७ जना प्रतिनिधि र बढीमा ३ जना पर्यवेक्षक सहभागी हुनेछन्। प्रति व्यक्ति रु १,००० शुल्क तोकिएको र कार्यक्रममा महासंघका विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष मोहनकुमार सुनार प्रमुख अतिथिका रूपमा रहने प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतमले जानकारी दिनुभयो।

लुम्बिनी प्रदेशको १२ जिल्ला र ३ नगर संघको सहभागितामा लमहीमा पाँचौ र छैटौँ साधारण सभा आयोजना हुने भएको छ । प्रत्येक संघबाट ७ जना प्रतिनिधि र २ जना पर्यवेक्षक सहभागी हुने र प्रति व्यक्ति रु १,००० शुल्क लिइने प्रदेश अध्यक्ष ध्रुवकुमार गहतराजले बताउनुभयो। कार्यक्रममा महासंघका द्वितीय उपाध्यक्ष बुद्धि बहादुर वि.के. दियालीको प्रमुख आतिथ्यता रहने प्रदेश अध्यक्ष गहतराजले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको ६ जिल्ला संघको सहभागितामा पाँचौ र छैटौँ साधारण सभा आयोजना हुँदैछ। प्रत्येक संघबाट ७ जना प्रतिनिधि र २ जना पर्यवेक्षक सहभागी हुने र प्रति व्यक्ति रु १,२०० शुल्क निर्धारण गरिएको अध्यक्ष जनक सुनारले जानकारी दिनुभयो। थप तयारीका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो।

सुदूरपश्चिम प्रदेशको ८ जिल्ला र १ नगर संघको सहभागितामा धनगढीस्थित सिद्धार्थ कटेजमा पाँचौ र छैटौँ साधारण सभा आयोजना हुने भएको छ। प्रत्येक जिल्ला संघबाट ७ जना प्रतिनिधि र २ जना पर्यवेक्षक सहभागी हुनेछन् भने प्रति व्यक्ति रु १,००० शुल्क तोकिएको प्रदेश अध्यक्ष सन्तोष लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटी प्रमुख अतिथि रहने प्रदेश अध्यक्ष लामिछानेले बताउनुभयो ।

देशभर एकैदिन आयोजना हुन लागेको यस साधारण सभाले सुनचाँदी व्यवसायीहरूबीच संगठनात्मक एकता सुदृढ गर्नुका साथै साझा नीति, दृष्टिकोण र आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले व्यक्त गर्नुभएको छ ।

यसपटकको साधारण सभामा व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण विषयहरूमा गहन छलफल हुने जनाइएको छ। विशेषगरी सुन तथा चाँदीको मूल्य निर्धारण प्रणालीमा पारदर्शिता, कर नीति तथा भन्सार दरमा सुधार, अवैध आयात नियन्त्रण, व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया सरलीकरण, बीमा तथा सुरक्षासम्बन्धी व्यवस्था, तथा व्यवसायीहरूको हक–हित संरक्षणका सवालहरू प्राथमिकतामा रहनेछन्। साथै, नयाँ प्रविधिको प्रयोग, डिजिटल कारोबार विस्तार, सीपमूलक तालिम र दक्ष जनशक्ति विकासका विषयमा समेत नीति निर्माणतर्फ केन्द्रीत बहस हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय