सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको साधारण सभाको तयारी अन्तिम चरणमा

विराटनगर । नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको पाँचौं तथा छैटौं वार्षिक साधारण सभा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रम होटल स्वागतम् , रोडशेष, विराटनगरमा आयोजना हुने भएको छ।

उक्त साधारण सभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईली प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको प्रदेश अध्यक्ष रमेश रसाईलीले जानकारी दिनुभयो।

प्रदेश अध्यक्ष रसाईलीका अनुसार कोशी प्रदेश अन्तर्गत ८ वटा जिल्ला संघ र ९ वटा नगर संघ क्रियाशील रहेका छन्, जसले कार्यक्रममा व्यापक प्रतिनिधित्व जनाउनेछन्।

महासंघको निर्देशनअनुसार प्रत्येक जिल्ला तथा नगर संघबाट ७ जना प्रतिनिधि र २ जना पर्यवेक्षक सहभागी हुने व्यवस्था रहेको प्रदेश अध्यक्ष रसाईलीले बताउनुभयो। सहभागी प्रतिनिधि तथा पर्यवेक्षकहरूले प्रति व्यक्ति रु. १,५०० का दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन प्रदेश स्तरमा तीव्र तयारी भइरहेको प्रदेश अध्यक्ष रसाईलीले जानकारी दिनुभयो। उहाँका अनुसार साधारण सभामा प्रदेश महासंघको सदस्यता वितरणसम्बन्धी कार्यविधि लगायतका महत्वपूर्ण विषयमा छलफल गरिनेछ।

त्यस्तै, प्रदेश सचिव कुमार श्रेष्ठले प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

महासंघको मिति २०८२ माघ १६ गते सम्पन्न ११औँ कार्यसमिति बैठकले सातै प्रदेशमा चैत २१ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेअनुसार कोशी प्रदेशमा पनि सोही मितिमा कार्यक्रम हुन लागेको प्रदेश सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

यस साधारण सभालाई कोशी प्रदेशका सुनचाँदी व्यवसायीहरूका लागि नीतिगत छलफल, संगठन सुदृढीकरण र आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरको रूपमा हेरिएको उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय