काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले व्यवसायीका पक्षमा धेरै काम गरिरहेको महासंघमाथि चौतर्फी प्रहार भइरहेको गुनासो गर्नुभएको छ । शनिबार काठमाडौं सुनचाँदी व्यवसायी संघको २३ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले व्यवसायीहरू समक्ष सो गुनासो व्यक्त गर्नुभएको हो ।
विगतमा छोटो-छोटो अवधिमा सरकार परिवर्तन भइरहेका कारण कानुन बन्न बाधा पुगेको उहाँले बताउनुभयो। ‘हामीले हालै मात्र ३२ बुँदे सुझाव अर्थ मन्त्रालयलगायतका निकायमा बुझाएका छौं,’ उहाँले भन्नुभयो, ‘आशा छ अब बन्ने बहुमतको बलियो र स्थिर सरकारबाट हाम्रो सुझाव सम्बोधन हुनेछ ।’
उहाँले सुन व्यवसायलाई पारदर्शी र मर्यादित बनाउने कुरा व्यवसायीकै हातमा रहेको बताउनुभयो । ‘त्यसकारण सुन पुगेन भने महासंघलाई भन्नौँ, सरकारलाई दबाब दिऔँ तर गिरोहतिर नजाऔँ,’ अध्यक्ष रसाईलीले भन्नुभयो । महासंघले व्यवसायीको सहजताका लागि सफ्टवेयर र एप विकास गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएकी संघकी अध्यक्ष रोहिनादेवी शाक्यले ५ लाखभन्दा माथिको कारोबार चेकबाट गर्नुपर्ने व्यवस्थाले व्यवसायी समस्यामा परेको बताउनुभयो ।
‘अहिले सुनको मूल्य बढेर प्रतितोला ३ लाख नाघिसकेको छ, एउटा गहना बनाउँदा नै ५ लाखभन्दा बढी पुग्छ, सरकारी नियमका कारण हरेक जसो कारोबार चेकमा गर्नुपर्ने अवस्था आएको छ,’ उहाँले भन्नुभयो, ‘यसले एकातिर व्यवसायीसँग नगद प्रवाहको समस्या भएको छ भने अर्कातिर चेक सटहीका लागि ठुलो तनाव व्यहोर्नुपरिरहेको छ ।’ पैसाबिनाका चेक आउने भएकाले व्यवसायीले बाउन्सका लागि छुट्टै तनाव खेप्नुपर्ने अवस्था आएको अध्यक्ष शाक्यले बताउनुभयो ।
उहाँले विलासिता शुल्क, भ्याट, गोएमएल जस्ता समस्यामा जेलिएका व्यवसायीलाई नगद कारोबारको सीमाले थप चिन्तित बनाएको गुनासो गर्नुभयो। ‘सरकारले नगद कारोबारको सीमा तत्काल बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘नत्र व्यवसायी सुन व्यापार छाडेर चेकको पछि लाग्नुपर्ने स्थिति आउने देखिएको छ ।’
त्यस्तै करिब २३ हजार व्यवसायी आबद्ध रहेको, प्रत्यक्ष-अप्रत्यक्ष ५ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको र २० परिवार लाभान्वित भइरहेको सुनचाँदी व्यवसायका लागि कुनै स्पष्ट कानुनी व्यवस्था नभएकोप्रति उहाँले असन्तुष्टि जनाउनुभयो । ‘अर्थतन्त्र चलायमान बनाउन सुनचाँदी व्यवसायको ठूलो भूमिका छ,’ अध्यक्ष शाक्यले भन्नुभयो, ‘तर सरकार कानुन बनाएर सहजीकरण गर्नभन्दा व्यवसायीलाई झन्झट थप्ने काममात्र गरिरहेको छ ।’







