सुनचाँदी व्यवसायी महासंघको १३ औं स्थापना दिवस: व्यवसायिक एकताको सामूहिक प्रतिबद्धता

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३औँ स्थापना दिवस विशेष कार्यक्रम आज महासंघको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा सम्पन्न भएको छ।

२०६९ साल फागुन २० गते स्थापना भएको महासंघले स्थापना दिवसका अवसरमा विगतका वर्षहरूमा देशव्यापी रूपमा विविध कार्यक्रम आयोजना गर्दै भव्यताका साथ मनाउँदै आएको थियो। तर यस वर्ष फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन परेका कारण महासंघ कार्यालयमै स्थापना दिवस विशेष कार्यक्रम सम्पन्न गरिएको महासंघले जनाएको छ।

महासंघका अध्यक्ष अर्जुन रसाईलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष मणिरत्न शाक्य, निवर्तमान अध्यक्ष माणिकरत्न शाक्य, वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य लगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले महासंघले स्थापना कालदेखि नै सुनचाँदी व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा संगठन सुदृढीकरणमा खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

चितवनमा २०४३ सालमा ‘सुनचाँदी कला व्यवसायी संघ’ को नामबाट साङ्गठनिक अभियान सुरु भएको थियो भने २०४४ सालदेखि ‘नेपाल सुनचाँदी व्यवसायी संघ’ को स्थापना भई विभिन्न जिल्लाहरूमा शाखा विस्तार हुँदै राष्ट्रिय स्वरूपमा संगठित भएको इतिहास रहेको छ।

स्थापना दिवसका अवसरमा व्यवसायीहरूबीच एकता, सहकार्य र पेशागत मर्यादालाई थप मजबुत बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय