तत्काल विलासिता शुल्क खारेजी गर्न अर्थ मन्त्रालयलाई महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनका गरगहनाको बिक्रीमा लगाइएको २ प्रतिशत विलासिता शुल्क तत्काल खारेजी गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ।

महासंघका अध्यक्ष अर्जुन रसाईलीको नेतृत्वमा बिहीबार गएको टोलीले अर्थ मन्त्रालयका सहसचिव एवं कार्यदलका संयोजक उत्तरकुमार खत्रीलाई भेटगरी तत्काल विलासिता शुल्क खारेज गर्न माग गरेको हो ।

भेटका क्रममा सहसचिव खत्रीले नेपाल सुनचाँदी व्यवसायी महासंघले राखेको मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उपयुक्त सययमा व्यवसायीको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो । सरकारले नयाँ बजेट निर्माणको कार्य अगाडि बढाएको उल्लेख गर्दै त्यसक्रममा व्यवसायीको माग सम्बोधन गर्ने आश्वासन उहाँले दिनुभयो ।

त्यसैगरी महासंघका अध्यक्ष रसाईलीले सुनको मूल्य अत्याधिक वृद्धि भएको र त्यसमा विलासिता शुल्क समेत थपिएकोले सर्वसाधारण उपभोक्ता चरम मारमा परेको भन्दै तत्काल विलासिता शुल्क खारेजी गर्नुपर्ने माग गर्नुभयो ।

भेटघाटका क्रममा महासंघको तर्फबाट अध्यक्ष रसाईली सहित वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ र महानिर्देशक शिव दुवाडीको उपस्थिति रहेको थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत सुनका गरगहनाको विक्रीमा २ प्रतिशत विलासिता शुल्क लगाउने व्यवस्था गरेको छ। त्यसयता व्यवसायीहरू निरन्तर विरोधमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय