नगद कारोबार र क्यूआर मार्फत हुने भुक्तानीको सिमा बढाउन राष्ट्र बैंकलाई महासंघको आग्रह

काठमाडौं । नगद कारोबार र क्यूआर मार्फत हुने भुक्तानीको सिमा बढाउन नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष अर्जुन रसाईलीको नेतृत्वमा बिहीबार गएको टोलीले राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डितसँग भेटगरी यस्तो आग्रह गरेको हो ।

भेटघाटका क्रममा कार्यकारी निर्देशक पण्डितले सुनचाँदी व्यवसायीहरूको मागलाई आफूले गम्भिर रुपमा लिएको र यसको कार्यान्वयनका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी सुनको मूल्य अत्याधिक वृद्धि भएको र बजारमा उपभोक्ताहरुबाट फिर्ता आउने क्रम बढेको उल्लेख गर्दै त्यस्तो सुन खरिद गर्ने संयन्त्र निर्माण गर्न कार्यकारी निर्देशक पण्डितसँग महासंघका अध्यक्ष रसाईलीले आग्रह गर्नुभयो ।

साविकको बागमती अञ्चल तथा हालको बागमती प्रदेशभित्रका जिल्लाहरुमा सुनको वितरण, चाँदीको आयात तथा वितरणको व्यवस्थापन, सुनको कोटा वृद्धि, साना आकारका सुनको सिफारिस, प्रदेशगत रुपमा कच्चा पदार्थको पहुँच लगायतका विषयमा उहाँले राष्ट्र बैंकको ध्यानाकर्षण गराउनुभयो ।

भेटघाटका क्रममा महासंघको तर्फबाट अध्यक्ष रसाईली सहित वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ र महानिर्देशक शिव दुवाडीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय