तनहुँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष मोहनकुमार विश्वकर्माले व्यवसायीहरु एकता भएर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ । तनहुँ सुनचाँदी व्यवसायी संघको शनिबार दमौलीमा सम्पन्न नवौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।
पहिला व्यवसायीहरु संगठित भएर बस्नुपर्छ,उहाँले भन्नुभयो “संगठित हुन नसके हामीले खोजेका हक र अधिकार प्राप्त गर्न सकिदैन् ।”
कम्तीमा ५० लाखसम्म कारोबार गर्ने व्यवसायीले भ्याटमा दर्ता गर्न नपर्ने भएकाले निर्देशिका र कार्यविधि अध्ययन गर्न व्यवसायीलाई उहाँले सुझाव दिनुभयो ।
विलासिता कर र भ्याट हटाउन आन्दोलनको विकल्प नरहेकाले व्यवसायीहरु एकजुट बन्न आवश्यक रहेको उहाँले औल्याउनुभयो ।
महासंघको तर्फबाट व्यवसायीहरुको हकहितका विषयमा धेरै काम भएको उल्लेख गर्दै सुनको आपूर्तिमा आवश्यकता अनुरुप व्यवस्थापन गर्न सरकार र व्यवसायीबीच कार्यविधिमा उल्लेख गरिएपनि जेन-जी आन्दोलनका कारण कार्यन्वयनमा ल्याउन नसकिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव निर्मल दियालीले सुनचाँदी व्यवसाय धर्म र संस्कृतिसंग जोडिएको व्यवसाय भएकाले यसको संरक्षण र व्यवसाय विस्थापित हुनबाट जोगाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतमले विलासिता कर अव्यवहारिक हुनुका साथै कर कसरी तिर्ने भन्ने समस्यामा व्यवसायीहरू रहेको बताउनुभयो । चोरीजन्य सुनको समस्याबाट सुनचाँदी व्यवसायीलाई छुटकारा दिने हो भने जिल्लामा हेल्पडेस्क स्थापना अनिवार्य रहेको उहाँले बताउनुभयो ।
संघका जिल्ला अध्यक्ष हरि गहतराजको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरू हिमलाल वि.क,बिनोद कुमार वि.क लगायतका वक्ताहरुले सुनको मूल्य दिनदिनै बृद्धि हुँदै जाँदा व्यवसायबाट कमाउने भन्दा पनि कसरी बचाउने भन्ने चिन्ता थपिएको बताउनुभयो।



