चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको दशौँ वार्षिक साधारणसभाको बन्द सत्र आइतबार नारायणगढस्थित चितवन उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तथा चितवनका वरिष्ठ सल्लाहकार अर्जुन रसाईलीको प्रमुख उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका महासचिव गोपाल बहादुर वि.क थापाले प्रस्तुत गर्नुभएको आ.व.२०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र आ.व.२०८२/०८३ को वार्षिक योजना तथा कार्यक्रम सर्वसम्मत रुपले पारित तथा अनुमोदन भएको छ ।
त्यसैगरी कोषाध्यक्ष रमेशचन्द्र सदाशंकरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सहितको आ.व.२०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन, अनुगमन समितिका संयोजक भोजराज सेन्चुरीले प्रस्तुत गर्नुभएको आ.व.२०८१/०८२ को अनुगमन समितिको प्रतिवेदन र लेखा समितिका संयोजक खड्क बहादुर विश्वकर्माले प्रस्तुत गर्नुभएको आ.व.२०८१/०८२ को लेखा समितिको प्रतिवेदन सर्वसम्मत रुपले पारित तथा अनुमोदन भएको छ ।
साधारणसभाको बन्दसत्रमा संघको विधान–२०६९ र संघको निर्वाचन नियमावली–२०७५ को संशोधन प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको छ।
सभाले सुनचाँदी व्यवसायी महिला समूह चितवनको संचालन सम्बन्धी नियमावली–२०७७ (पहिलो संशोधन–२०८१) सर्वसम्मत रुपले अन्तिम अनुमोदन गरेको छ ।
बन्द सत्रमा महासंघका सचिव तथा जिल्ला सल्लाहकार टुलकप्रसाद विश्वकर्मा, महासंघका प्रवक्ता तथा जिल्ला सल्लाहकार जीवनज्योति विश्वकर्मा, महासंघका केन्द्रीय सदस्य तथा जिल्ला सल्लाहकार ऋतु विश्वकर्मा, महासंघका बागमती प्रदेश सदस्य तथा जिल्ला सल्लाहकार दिनेश खाती, संघका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु ज्ञानेन्द्रमान शाक्य, चित्रबहादुर विश्वकर्मा, टेकबहादुर विश्वकर्मा, माडी शाखाका संस्थापक अध्यक्ष तथा जिल्ला सल्लाहकार कमल रामदाम लगायतको विशेष उपस्थिति रहेको थियो । बन्द सत्रमा चितवन जिल्लाभरका सुनचाँदी व्यवसायीहरुको प्रतिनिधिमूलक सहभागीता रहेको थियो ।







