नेपालगन्ज । नेपालमा स्पष्ट नीति तथा नियमको अभावका कारण सुनचाँदी व्यवसायीहरू गम्भीर अप्ठ्यारो अवस्थामा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले बताउनु भएको छ ।
नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेको शनिबार सम्पन्न आठौँ तथा नवौँ वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष शाक्यले सुनचाँदी व्यवसायीहरूको समस्या राज्यले गम्भीर रूपमा लिनुपर्ने बताउनु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष शाक्यले नेपालमा सुनचाँदी व्यवसायीका लागि एकीकृत नीति र नियम लागू भएको भए व्यवसायीहरू एउटै प्रणालीमा चल्ने बताउनुभयो। यसो भएमा सुनचाँदी व्यवसायमा स्थायित्व र ढुक्कको वातावरण सिर्जना हुने उहाँले बताउनुभयो।
सरकारले विलासिताको कर लगायतका विभिन्न कर लगाउने विषयमा एकतर्फी रूपमा अगाडि बढिरहेको उहाँले भन्नुभयो। उहाँले सुनचाँदी व्यवसायीले राज्यलाई दिने राजश्व योगदानप्रति सरकार गम्भीर नभएको बताउनुभयो। ‘राजश्वमा उल्लेखनीय योगदान हुँदाहुँदै पनि हाम्रो क्षेत्रलाई प्राथमिकतामा राखिएको छैन’, उहाँले गुनासो गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएको नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाउद्दिन जसगढले महासंघप्रति असन्तुष्टि व्यक्त गर्दै नेपालगन्जलाई जिल्लास्तरीय मान्यता नदिइएको विषय उठान गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालगन्ज उपमहानगरपालिका भित्र पर्ने हाम्रो संघमा सदस्य संख्या निरन्तर बढ्दो छ । अन्य जिल्लाको तुलनामा सदस्य संख्या धेरै हुँदाहुँदै पनि जिल्लाको नेतृत्व गर्ने मान्यता नपाउनु दुःखद् हो । यस विषयमा केन्द्रीय समितिले गम्भीरतापूर्वक सोच्नुपर्छ ।’



