विश्व अर्थतन्त्र अझै पनि पूर्ण रूपमा स्थिर भइसकेको छैन। अन्तर्राष्ट्रिय राजनीतिक तनाव, ब्याजदरको अनिश्चितता, मुद्रास्फीति र ठूला अर्थतन्त्रहरूको मौद्रिक नीतिले आगामी दिनमा पनि सुनचाँदीको मूल्यलाई प्रभाव पारिरहने स्पष्ट संकेत देखिन्छ। यही कारणले सुनचाँदीको मूल्य छोटो समयमै ठूलो गिरावट आउनेभन्दा पनि उच्च स्तरमै उतार चढावसहित रहने सम्भावना बढी देखिन्छ।
अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता कायम रहेसम्म सुन सुरक्षित लगानीका रूपमा आकर्षक रहन्छ। डलर कमजोर हुने संकेत देखिएमा सुनको मूल्य अझ माथि जान सक्छ। चाँदीको हकमा भने औद्योगिक प्रयोग (सोलार, इलेक्ट्रोनिक्स) बढ्दै गएकाले यसको माग दीर्घकालमा स्थिर रूपमा बढ्ने सम्भावना छ। यसले चाँदीको मूल्यलाई पनि क्रमशः माथि धकेल्न सक्छ, यद्यपि सुनको तुलनामा यसको उतारचढाव बढी रहन सक्छ।
मूल्य उच्च रहिरहेमा सुनचाँदी व्यवसायमा दोहोरो प्रभाव देखिन सक्छ। एकातर्फ, गहना व्यवसायमा प्रत्यक्ष असर पर्छ। सर्वसाधारण उपभोक्ताको खरिद शक्ति कमजोर हुँदा दैनिक कारोबार घट्न सक्छ। विवाह र चाडपर्वमा समेत हलुका तौलका गहना रोज्ने प्रवृत्ति बढ्नेछ। यसले परम्परागत गहना व्यवसायलाई नयाँ डिजाइन, न्यून तौल र आधुनिक सोचतर्फ जान बाध्य बनाउनेछ।
अर्कोतर्फ, मूल्य वृद्धिले सुनचाँदीलाई केबल गहनाको सामग्री होइन, लगानीको साधनका रूपमा अझ बलियो बनाउँछ। यसले केही व्यवसायीलाई लगानीमुखी कारोबारतर्फ आकर्षित गर्न सक्छ । जस्तै बार, सिक्का वा पुरानो सुनको कारोबार तर अत्यधिक मूल्य अस्थिरताले साना व्यवसायीलाई जोखिममा पार्न सक्छ, किनकि थोरै गलत अनुमानले ठूलो घाटा निम्त्याउन सक्छ।
दीर्घकालमा हेर्दा, सुनचाँदी व्यवसाय अब परम्परागत ढाँचामा मात्र टिकिरहन सक्ने अवस्था छैन। मूल्य वृद्धि र उपभोक्ताको बदलिँदो व्यवहारले व्यवसायीलाई डिजाइन नवप्रवर्तन, पारदर्शी मूल्य प्रणाली र विश्वासमा आधारित कारोबार अपनाउन प्रेरित गर्नेछ। साथै, सरकारले आयात व्यवस्थापन र व्यवसायिक स्थिरताका लागि स्पष्ट नीति नल्याएसम्म यो क्षेत्र थप चुनौतीपूर्ण बन्दै जान सक्छ।
आगामी दिनमा सुनचाँदीको मूल्य सस्तो हुनेभन्दा पनि उच्च र अस्थिर रहने संकेत बलिया छन्। यसले सुनचाँदी व्यवसायलाई चुनौती मात्र होइन, परिवर्तनको अवसर पनि प्रदान गर्छ। समयअनुसार रणनीति बदल्न सक्ने व्यवसायी टिक्नेछन्, जबकि पुरानो सोचमा अड्किनेहरू दबाबमा पर्नेछन्। सुनचाँदीको मूल्यले बजारलाई मात्र होइन, व्यवसायिक सोचलाई पनि परिष्कृत बनाउने संकेत दिइरहेको छ ।



