नेपालमा सुनचाँदी व्यवसाय पुरानै समयदेखि केवल व्यापार मात्र होइन, धेरैका लागि जीवनयापनको आधार बनिरहेको छ। घर–परिवारको खर्च, शिक्षा, स्वास्थ्यदेखि लिएर दैनिक आवश्यकतासम्मको भार यही पेशामार्फत उठाउने व्यवसायीहरूको हिस्सा करिब ८० प्रतिशत रहेको यथार्थलाई राज्यले अझै गहिरोसँग बुझेको देखिँदैन। यही कारण, सरकारको हालैको “व्यवसायिक खाता र व्यक्तिगत खाता पूर्णरूपमा अलग–अलग राख्नुपर्ने” नीति कागजमा जति राम्रो देखिन्छ, व्यवहारमा त्यति नै अपूर्ण र अव्यवहारिक साबित भइरहेको छ।
सैद्धान्तिक रूपमा हेर्दा व्यवसायिक खाता पारदर्शिता, लेखापरीक्षण र कर प्रणाली सुव्यवस्थित गर्न अत्यावश्यक हो। तर नेपालमा सुनचाँदी व्यवसाय पेशा र व्यवसायको मिश्रणमा चल्ने प्रचलन छ। व्यवसायिक खाताबाटै परिवार चलाउने परिपाटी वर्षौँदेखि जरा गाडेर बसेको छ। यस्तो अवस्थामा अचानक कडा नीतिको थोपथापले व्यवसायीहरूलाई सहजभन्दा बढी कठिन परिस्थिति तिर धकेल्ने खतरा छ।
त्यसमाथि, व्यवसायिक खाताबाट व्यक्तिगत खातामा रकम सापटी लिने वा फिर्ता गर्ने व्यवस्था स्पष्ट नहुँदा धेरै व्यवसायी अनावश्यक रूपमा कर–जोखिम, शंका र प्रशासनिक झन्झटमा फसिरहेका छन्। यस्ता विषयमा राजस्व कार्यालय स्वयम् प्रशिक्षण, मार्गदर्शन र स्पष्ट नियमावली प्रदान गर्न अघि नबढेसम्म पारदर्शिता बढ्छ भन्ने अपेक्षा नै अवास्तविक हुन्छ।
हालको मूल्य–वृद्धि र सुनको असाधारण मूल्य उतार–चढावलाई हेर्दा ५ लाखको नगद सीमा पनि आजको परिस्थितिमा कतै कतै अप्रासङ्गिक हुँदै गएको छ। सुनचाँदी किनबेच, ढलाई, मजदुरी, पुराना गहनाको मिलानजस्ता गतिविधिमा नगदको तत्काल आवश्यकताले कडाइपूर्वक तोकिएको सीमा अवरोध झैं बन्न थालेको छ।
यथार्थ यति सरल छ । नीति लागू गर्नु कठिन होइन, गलत नीतिलाई लागू गर्नु कठिन छ।
सुनचाँदी व्यवसाय जति संवेदनशील, उत्तिकै विशिष्ट पनि छ। त्यसैले नीति बनाउँदा सरकार, व्यवसायी, करविद, महासंघ तथा क्षेत्रीय प्रतिनिधिबीच गम्भीर, खुला र नियमित अन्तरक्रिया बिना नीति टकटक्याउने शैली अनुपयुक्त मात्र होइन, प्रतिकूल पनि हुन्छ।
अन्ततः सरकारले ल्याएको कुनै पनि नीति जनतामा समस्या होइन, समाधान बन्नुपर्छ। तर व्यवहार, संरचना र संस्कृतिसँग नजोडिएका नियमहरू “समस्याको नयाँ श्रृङ्खला” मात्र उत्पादन गर्छन्। त्यसैले सुनचाँदी जस्तो परम्परागत र जनजीवनसँग घनिष्ठ रूपमा जोडिएको पेशामा कागजी नीति भन्दा धरातलीय सत्यलाई प्राथमिकता दिन जरूरी छ। सही नीति त्यही हो – जो कागजमा सुन्दर मात्र होइन, जीवनमा सम्भव पनि हो।




