काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसाय सञ्चालन गर्दा सचेत बन्न मातहतका जिल्ला तथा नगर संघका व्यवसायीहरूलाई आह्वान गरेको छ ।
मंगलबार एक सूचनामार्फत महासंघले बिना बिलको सुनचाँदीको कारोबार नगर्न अनुरोध गरेको छ ।
महासंघले दिनानुदिन सुनचाँदीको दरभाउ बढ्दो क्रममा रहेकोले यस्तो अवस्थामा चोरी तथा लुटपाट हुने प्रबल सम्भावना हुन सक्ने जीकिर गर्दै व्यवसायीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
महासंघका महासचिव किरणभाई बज्राचार्यले हस्ताक्षर गर्नुभएको सूचनामा खरिद बिक्री खाताहरु, स्टक रेकर्ड तथा लेखा सम्बन्धी सम्पूर्ण विवरणहरु चुस्त दुरुस्त राख्न अग्रह गरिएको छ ।
त्यस्तै महासंघले पत्रमा डिजिटल ढक, तराजुहरु समयमा नै नविकरण गर्न, सकभर पसलमा एक्लै नबस्न, आफ्नो जिल्लामा अनुकूल समय तालिका मिलाई कारोबार गर्ने समय निर्धारण गर्न, सिसिटिभि क्यामेरा, ईन्भर्टर, साईरन, समय समयमा निरीक्षण गर्न, स्थानीय निकाय, प्रहरी कार्यालयहरुमा सहकार्य गरी सुरक्षा आवश्यकता सम्बन्धी छलफल गर्न, चेन गेट, ताला, अन्य स्वचालित अर्लाम र सिसिटिभि क्यामेरा उच्च गुणस्तरको राख्न, गुणस्तरहिन सामान खरिद बिक्री नगर्न, विलाशिता शुल्क समयमा नै तिरि जरिवाना तथा अन्य झन्झटमा नपर्न, ज्यासल र पसल एकै ठाँउमा भए अति ज्वलनशिल पदार्थ र अन्य जोखिमयुक्त सामाग्रीहरुलाई सुरक्षित र व्यवस्थित तवरले राख्न, पसल खोल्दा र बन्द गर्दा अत्यन्त सचेत तवरबाट गर्न, कालिगढहरु मार्फत सामान ओसार पसार गर्दा चलानी बिलको अनिवार्य प्रयोग गर्न, बिहान, बेलुका वा बिदाको दिनमा झुक्याएर पसल खोल्न लगाई लुटपाट गर्ने क्रम बढेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।



