काठमाडौँ । आन्तरिक राजस्व विभागले सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई बेनामी वा काल्पनिक नामबाट कारोबार नगर्न र व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न निर्देशन दिएको छ ।
बहुमूल्य धातुको कारोबारमा प्रभावकारी नियमन हुन नसकिरहेका बेला विभागले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा कडाइ गर्दै ‘बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था) का लागि जारी गरेको निर्देशन २०८२’ लागू गरेको हो।
निर्देशनअनुसार, सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूले (सूचक संस्था) ले आफ्नो कारोबार गर्दा बैंक तथा वित्तीय संस्थामा रहेको व्यावसायिक संस्थाको खाताबाट मात्र गर्नुपर्नेछ। निर्देशनमा सूचक संस्थाले व्यक्तिगत खाता वा आफ्ना कर्मचारी तथा परिवारका सदस्यको खाता प्रयोग गर्न नपाउने स्पष्ट पारिएको छ।
विभागको निर्देशनमा सूचक संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको बहुमूल्य धातु वा वस्तु बिक्री गर्दा ग्राहक वा निजको परिवारको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र रकम भुक्तानी लिनुपर्ने व्यवस्था गरिएको छ। विद्युतीय माध्यममार्फत हुने भुक्तानीको सीमाबारे थप व्यवस्था गर्न विभागले नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने जनाएको छ।
व्यवसायीहरूले जोखिमको आधारमा उच्च पदस्थ व्यक्तिहरूको पहिचान गरी उनीहरूको विवरण नियमित रूपमा संकलन र अद्यावधिक गर्दै सुरक्षित राख्नुपर्नेछ। व्यवसायीले कारोबार गर्ने व्यक्ति उच्च पदस्थ व्यक्तिको परिवारका सदस्य वा नजिकको सम्बन्ध भएको वा नभएको पनि यकिन गर्नुपर्ने विभागले जनाएको छ। यदि यी निर्देशनहरू पालना नगरेको भेटिए कानुनअनुसार कारबाही र एक करोड रुपैयाँसम्म जरिवाना हुने व्यवस्था निर्देशनमा उल्लेख छ।
विभागले सूचक संस्थाले सम्पत्ति शुद्धीकरण निवारण ऐनको व्यवस्थाबमोजिम नीति तथा कार्यविधि बनाई ग्राहक पहिचान, कारोबारको विवरण र अस्वाभाविक तथा शंकास्पद कारोबार पहिचान गर्ने आधार र पद्धति बनाउनुपर्ने बताएको छ। यस निर्देशनमा उल्लेख भएका व्यवस्था आम विनाशकारी हतियार निर्माण तथा विस्तारमा वित्तीय लगानीको सन्दर्भमा समेत लागू हुनेछ।



