स्वास्थ्य सेवामा महासंघको पहल : व्यवसायीको हितमा महत्वपूर्ण कदम

नेपाल सुनचाँदी व्यवसायी महासंघले आफ्ना सदस्य व्यवसायी, कर्मचारी तथा उनीहरूका परिवारका लागि स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने निर्णय गरेकाे खबर निःसन्देह प्रशंसनीय छ। पछिल्ला वर्षयता स्वास्थ्य सेवा महँगिँदै गएको अवस्थामा महासंघले यस्ताे कदम चाल्नु व्यवसायी समुदायप्रति गरेको संवेदनशील तथा दूरदर्शी कामकाे प्रमाण हो।

महासंघको पहलमा उपत्यकाका चार प्रमुख हस्पिटल-नर्भिक इन्टरनेशनल हस्पिटल (थापाथली), ग्राण्डी इन्टरनेशनल हस्पिटल (टोखा), मेडिसिटी हस्पिटल (नक्खु) र ह्याम्स हस्पिटल (चाबहिल)सँग छुटसम्बन्धी लिखित सम्झाैता हुनु महासंघकै भूमिकामा नयाँ उचाइ हो। साथै वयोधा हस्पिटल (बल्खु)सँगको प्रक्रिया अन्तिम चरणमा रहेकाले स्वास्थ्य सेवामा सदस्यहरूको पहुँच अझ विस्तार हुँदै जाने संकेत गर्दछ।

महँगाे उपचार खर्चले व्यवसायी मात्र होइन, सर्वसाधारण नागरिक पनि वर्षौंदेखि पीडित छन्। यस्तो अवस्थामा महासंघले स्वास्थ्य तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिँदै गरेको देखिनु सकारात्मक परिवर्तनकाे संकेत हो। उपचार, स्वास्थ्य परीक्षण तथा विभिन्न स्वास्थ्य प्याकेजहरूमा छुट व्यवस्था गर्नुले हजारौँ व्यवसायी परिवारलाई राहत प्रदान गर्नेछ।

छुट सुविधा प्राप्त गर्न महासंघ वा सम्बन्धित संघले जारी गरेको परिचयपत्र तथा सिफारिस पत्र अनिवार्य हुने व्यवस्था पारदर्शी र व्यवस्थित देखिन्छ। तर, यसले सेवाको उपयोग सरल, छिटो र व्यावहारिक हुने गरी व्यवस्थापन थप सहज बनाउन महासंघ सक्रिय रहनुपर्नेछ।

यस्तै, स्वास्थ्य सेवामा जस्तै यातायात तथा शिक्षा क्षेत्रकाे शुल्कमा पनि महासंघले छुट वा सहयोग व्यवस्था विस्तार गर्न सकेमा व्यवसायीहरूको जीवनस्तरमा थप सुधार आउने छ। संस्थाको नाम अनुरूप व्यवसायीलाई एकताबद्ध गर्दै उनीहरूको सुरक्षामा ध्यान दिने यस्तो पहलकदमीले महासंघको विश्वसनीयता र प्रभावशीलता दुवै बढाएको छ।

यसकारण, महासंघले अघि बढाएको यो जिम्मेवारीपूर्ण तथा हितैषी कार्यको हामी उच्च प्रशंसा गर्दछौं। यस्ता कार्यक्रमहरू निरन्तरता पाउँदै गए व्यापार, व्यवसाय तथा सम्पूर्ण व्यवसायी समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुग्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय