चितवन । चितवन स्थित सुनचाँदी व्यवसायीहरु मात्र शेयर सदस्य रहेको सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवनको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार नारायणगढमा एक कार्यक्रमको आयोजना गरि उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो।
साकोसका अध्यक्ष रुवेन रामुदामुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष विद्या कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड चितवनका कोषाध्यक्ष पदमपाणी सुवेदी, बागमति प्रदेशका पूर्व मुख्य सचिव डा.मान बहादुर वि.के, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।
साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि विद्या कोइरालाले नेपालको सहकारी क्षेत्र वर्तमान समयमा जटिल मोडमा देखिएको बताउनु भयो । उहाँले यस्तो विषम पस्थितिमा पनि सनचाँदी साकोस सहकारी संचालनको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै साकोसको नीति, विधि र प्रविधिको प्रावधान भित्र रहेर सदस्य मैत्री सेवामा केन्द्रीत भइ वित्तिय कार्यहरु संचालन गरिरहेकोमा प्रशंसा गर्नुभयो ।
उहाँले सुनचाँदी साकोस चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबाट उत्कृष्ट पुरस्कारप्राप्त साकोस संस्था रहेको बताउँदै साकोसका शेयर सदस्यहरुलाई दैनिक तथा मासिक बचतमा वृद्धि गर्नुका साथै समयमा नै ऋण भुक्तानी गरि कालो सूचीबाट बच्न समेत सबैमा अनुरोध गर्नुभयो ।
त्यस्तै जिल्ला सहकारी संघ लिमिटेड चितवनका कोषाध्यक्ष पदमपाणी सुवेदीले जोखिम ऋण र शंकास्पद ऋण असुलीका लागि साकोस सञ्चालक समिति मात्र नभई सबै शेयर सदस्यले एक आपसमा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले मासिक बचतलाई समेत बढाउँदै लैजानु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्माले सुनचाँदी साकोसको हरेक गतिविधिमा आफ्नो भरपूर साथ सहयोग रहने बताउनुभयो ।
साकोसका सचिव निलेनमान शाक्यले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभामा सञ्चालक समितिको तर्फबाट सचिव निलेनमान शाक्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रेम प्रकाश रामदामले आर्थिक प्रतिवेदन तथा आ.व.०८२/०८३ को वार्षिक बजेट, लेखा समिति सदस्य मोहन सुनारले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र साकोसका उपाध्यक्ष तथा ऋण उपसमिति संयोजक टुलक प्रसाद विश्वकर्माले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
२०६९ फागुन १७ गते स्थापना भएको साकोसमा ४१३ जना पुरुष शेयर सदस्य, २८२ जना महिला शेयर सदस्य, ३ वटा संस्थागत सदस्य गरी ६९८ जना शेयर सदस्यहरु रहेका छन् ।
साकोसको आ.व.०८१/०८२ मा शेयर पूँजी ४ करोड ४० लाख रहेको छ भने आ.व.०८१/०८२ मा संस्थागत पूँजी ९८ लाख १९ हजार ५ सय ३५ रुपैयाँ रहेको छ । त्यस्तै साकोसको आ.व.०८१/०८२ मा प्राथमिक पूँजी ५ करोड ३८ लाख १९ हजार ५ सय ३५ रुपैयाँ रहेको छ ।
साकोसको आ.व.०८१/०८२ मा कुल बचत रकम २२ करोड ८३ लाख २९ हजार ८ सय २ रुपैयाँ रहेकोमा आ.व.०८१/०८२ मा कुल ऋण लगानी २४ करोड ४४ लाख २९ हजार ४ सय ५० रुपैयाँ रहेको छ । साकोसले आ.व.०८१/०८२ मा ४० लाख २३ हजार ६ सय ४२ रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।
सभाले सुन खरिद ऋण लगानी सम्बन्धी कार्यविधि-२०८२ सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।









