धनतेरसमा एकै दिन ८० किलो सुन, १५ सय किलो चाँदी बिक्री

काठमाडौँ । सुनचाँदीको मुख्य कारोबार हुने धनतेरसमा एकै दिन करिब ८० किलो सुन र १५ सय किलो चाँदी बिक्री भएको छ ।

सुनचाँदी बिक्रीको यो परिमाण मुलुकभरकै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले बताउनुभयो । ‘धनतेरसकै दिन सुनको मूल्यले कीर्तिमान बनाएको थियो । कीर्तिमानी मूल्य रहेकै बेला एकै दिन ७० देखि ८० किलो बिक्री हुनु धेरै राम्रो हो,’ उहाँले भन्नुभयो , ‘गत वर्षको तुलनामा सुन बिक्री केही कम भए पनि मूल्यका हिसाबले धेरै राम्रो हो ।’

पछिल्लो समय सुनचाँदीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेका विभिन्न उत्तारचढावले नेपाली बजार प्रत्यक्ष प्रभावमा परेको छ । धनतेरसकै दिन (कात्तिक १) मा महासंघले सुनको मूल्य तोलाकै २ लाख ५८ हजार रुपैयाँ तोकेको थियो । गहना खरिद गर्दा सर्वसाधारणले अझ बढी मूल्य तिर्नुपर्छ । किनभने व्यवसायीले ज्याला-जर्तीलगायत गरी करिब औसतमा १२ देखि १५ प्रतिशत थप शुल्क लिन्छन् ।

‘सुरक्षित लगानीकै लागि सर्वसाधारणले गहनामा लगानी गरेको देखिन्छ, धनतेरसमा भएको सुन बिक्रीले पनि यसलाई पुष्टि गर्छ,’ रसाईलीले भन्नुभयो । धनतेरसका दिन १ हजार ५ सय किलो चाँदी बिक्री भएको उहाँले बताउनुभयो । महासंघले प्रतितोला चाँदीको मूल्य ३ हजार ३ सय ३५ रुपैयाँ तोकेको छ । तर सर्वसाधारणले चाँदीका गहना खरिद गर्दा थप शुल्क तिर्नुपर्छ ।

लक्ष्मीपूजा गर्न पैसाभन्दा सुनचाँदी प्रयोग गर्ने चलन बढ्दो रहेको गहना व्यवसायीको भनाइ छ । सर्वसाधारणले आफ्नो क्षमताअनुसार सुनचाँदीका गहना, मूर्ति, सिक्कालगायत खरिद गर्छन् । मूल्य अझै बढ्ने आकलनले सर्वसाधारणले गहनाभन्दा सिक्का, ढिक्का, बेरुवा औंठीलगायतमा चासो दिएका छन् । ‘गहना व्यवसायीका लागि धनतेरस एउटा पर्व नै हो । अन्य बेला व्यापार नभए पनि धनतेरसमा धेरै हुने अनुमान हुन्छ, व्यापार पनि हुन्छ,’ महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले भन्नुभयो , ‘गत वर्षको तुलनामा व्यापार कम भए पनि मूल्य बढेका हिसाबमा पनि सर्वसाधारणको चासो सुनमा देखियो । बिक्री ठिकै भएको छ ।’

गत वर्षको तुलनामा चाँदी बिक्री भने बढेको उहाँले बताउनुभयो । शाक्यका अनुसार सुनका ढिक्का बिक्री गर्न नमिले पनि चाँदीको मिल्छ । मूल्य अझै बढ्ने आकलनले सर्वसाधारणले चाँदी किन्न मन गरेका छन् । धनतेरसको दिनमा खरिद गरिएको सामानले लक्ष्मी भित्रिने मान्यता छ, जसले गर्दा धनतेरस नजिकिएलगत्तै सर्वसाधारणले गहना अर्डर गर्न थालेको व्यवसायी बताउँछन् ।

सुनको मूल्य बढे पनि तिहार (धनतेरस) कै कारण सुनको माग बढेको हो । बैंकले दिनहुँ किन्न पाउने परिमाण २० किलोबाट ५ किलो बढाएर २५ किलो बनाइएको छ । राष्ट्र बैंकले दिनहुँ २५ किलो सुनको कोटा निर्धारण गरे पनि बजारमा माग ४० देखि ४५ किलो पुगेको व्यवसायीको भनाइ छ । पुरानो सुन फिर्ता र विदेशबाट आएको सुनले जसोतसो माग धानेको उहाँहरूले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय