अर्थमन्त्री खनालसँग सुनचाँदी महासंघका प्रतिनिधिहरुको भेटवार्ता, महासंघको आग्रहमा सुनको कोटामा वृद्धि

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसँग नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरुले शुक्रबार भेटवार्ता गरेका छन् ।

महासंघका अध्यक्ष अर्जुन रसाईलीको नेतृत्वमा गएको टोलीलाई मन्त्री खनालले सुनचाँदी व्यवसायीहरुका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । व्यवसायीसँगको भेटका क्रममा मन्त्री खनालले व्यवसायीका समस्याका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै छिट्टै यी समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

‘तपाइँहरुको समस्या मैले बुझेको छु,’ उहाँले भन्नुभयो ‘आवश्यक प्रकृया मिलाएर यसलाई सम्वोधन गर्न म पहल गर्नेछु ।’ सुनचाँदीका गरगहना जस्तो नेपालको जन्म देखि मृत्युसम्मको संस्कार र संस्कृतिसंग जोडिएको वस्तुलाई होटल र मदिरा जस्तो विलासिताको दर्जामा राखेर लगाइएको २ प्रतिशत थप कर आम उपभोक्तालाई थप भार भई सुनको बजार संकुचन हुँदै गएकोले यथासिघ्र विलासिता कर छुट हुनु पर्ने व्यवसायीको मागलाई सम्बोधन गरी समस्याको समाधान गर्न म प्रयास गर्छु, ‘उहाँले भन्नुभयो ।

यस क्रममा मन्त्री खनालले व्यवसायीहरुलाई अनिवार्य रुपमा गोएमएलमा दर्ता गरिदिन आग्रह समेत गर्नुभयो । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिममा रहेको नेपाललाई निगरानी सूची (ग्रे लिस्ट)मा राखेको छ । त्यसवाट छुटकारा पाउन सरकारले यस्तो आग्रह गरेको हो ।

यस्तै मन्त्री खनालले व्यवसायीहरुलाई अनिवार्य रुपमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा दर्ता गराउनु पर्ने व्यवस्था गर्न लागिएको पनि त्यस क्रममा जानकारी गराउनु भयो ।

त्यसअघि सुनचाँदीको मुल्य विश्वव्यापीरुपमा बढीरहेको विद्यमान अवस्थामा भारतसँगको असमान भन्सार दर समान गर्न र सुनका गरगहनाको विक्रीमा लगाइएको २ प्रतिशत विलासिता कर छुट गर्न अध्यक्ष रसाईलीले मन्त्री खनालसँग आग्रह गर्नुभयो ।

चाडवाडको समयमा कच्चा सुनको आपूर्ति पर्याप्त मात्रामा नभइरहेको जनाउँदै अध्यक्ष रसाईलीले दैनिक ४० किलोका दरले सिजन र अफ सिजनमा बजारको मागको आधारमा र आवश्यकता अनुरुप मेल खाने गरी वार्षिक रुपमा सुन आयात गर्ने व्यवस्था मिलाउन पनि मन्त्री खनालसँग आग्रह गर्नुभयो ।

‘हाल दैनिक २० किलोको दरले आयात भैरहेको सुनको कोटालाई बढाएर दैनिक ४० किलो कायम गरिनु पर्ने र त्यसैको आधारमा दैनिक ४० किलो × ३६५ दिन (१वर्ष) भरीमा कुल १४ हजार ६ सय किलोमा नवढ्ने गरी बजारको माग र आवश्यकता अनुरुप हुने गरी सिजन र अफ–सिजनका आधारमा सुन आयात गर्न पाउने ब्यवस्था मिलाइनु पर्दछ; उहाँले भन्नुभयो ।

महासंघको आग्रहमा अब दैनिक २५ केजी सुन आयात हुने

नेपाल राष्ट्र बैंकले दैनिक आयात हुने सुनको कोटा वृद्धि गरी हालका लागि २५ केजी पुर्‍याएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रवार एकिकृत परिपत्र–२०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हाल दैनिक २० किलो मात्र सुन आयात हुने व्यवस्था थियो ।

महासंघका प्रतिनिधिहरुले आज शुक्रबार अर्थमन्त्री खनालसँग भेट गरेका थिए । तत् पश्चात तत्कालका लागि सुनको दैनिक कोटा २५ किलो गरिएको हो । यसलाई आवश्यकता अनुसार बृद्धि गर्न सकिने बताइएको छ ।

त्यसैगरी भेटका क्रममा महासंघका तर्फवाट प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बजाचार्य र महानिर्देशक शिव दुवाडी एवं काठमाडौं जिल्ला अध्यक्ष रोहिना शाक्यको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय