काठमाडौं । पछिल्लो समय देशभर सुनचाँदीको कालोबजारी बढ्दै गएको गुनासो आम नागरिक तथा व्यवसायीहरूबाट आइरहेका छन्। यस्तो अवस्थामा नेपाल सुनचाँदी व्यवसायी महासंघले आम उपभोक्ता तथा व्यवसायीहरूलाई सुनचाँदीको अवैध कारोबार देखेमा तुरुन्तै महासंघलाई जानकारी गराउन अनुरोध गरेको छ।
महासंघका महासचिव किरणभाई बज्राचार्यले भन्नुभयो, “यदि तपाईंले सुनचाँदीको कालोबजारी, कृत्रिम अभाव वा मूल्यमा अनावश्यक उतारचढाव देख्नु भयो भने कृपया तुरुन्तै नेपाल सुनचाँदी व्यवसायी महासंघलाई जानकारी गराउनुहोस्। हामी सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक कारवाहीको पहल गर्नेछौं।”
महासचिव बज्राचार्यका अनुसार अहिले बजारमा देखिएको अभावको मुख्य कारण भनेको बैंकले समयमा सुन उपलब्ध गराउन नसक्नु रहेको हो ।
उहाँले भन्नुभयो, “हामी व्यवसायीहरूका मागअनुसार पर्याप्त परिमाणमा सुनचाँदी आपूर्ति गर्ने पहल गरिरहेका छौं। कालोबजारी नियन्त्रणका लागि सम्बन्धित निकायसँग पनि सहकार्य गरिनेछ।”
सम्पूर्ण व्यवसायीहरूलाई आह्वान गर्दै महासचिव बज्राचार्यले भन्नुभयो “व्यवसाय नैतिक आधारमा गरौं। कुनै पनि मूल्यमा कालोबजारी नगरी, बजारमा पारदर्शी र उपयुक्त मूल्यमा सुनचाँदी उपलब्ध गराऔं।”
उहाँले देशभरका जिल्ला तथा नगर संघहरूलाई समेत सतर्क रहन निर्देशन दिनुभएको छ र स्थानीय स्तरमा भएको सुनचाँदीको कारोबारमा अनियमितता देखिए तत्काल रिपोर्ट गर्न आग्रह गर्नुभएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भइरहेको उतारचढावका कारण भोलिका दिनहरूमा पनि बजारमा मूल्य परिवर्तन देखिन सक्ने हुँदा आधिकारिक स्रोतबाट मात्रै मूल्य जानकारी लिन उहाँले आग्रह गर्नुभएको छ।



