काठमाडौं । सुनचाँदीको मूल्य विश्वव्यापी रुपमै लगातार वृद्धि हुँदै जाँदा नेपाली बजारमा यसको अभाव चुलिन थालेको छ । विश्वव्यापी रूपमा नै सुनचाँदीको माग बढेपछि नेपालमा पनि यसको उपलब्धता सीमित हुन पुगेको हो ।
अहिले नेपाली बजारमा सुनचाँदी सहजै पाउन कठिन भएको छ । सुनको मूल्य निरन्तर वृद्धि हुने प्रक्षेपणपछि बजारमा चाँदीको पनि अभाव देखिन थालेको छ।
नेपालमा सुनको आयात वाणिज्य बैंकहरूमार्फत् हुने गर्दछ भने चाँदी व्यवसायीहरूले आफैं आयात गर्न पाउने व्यवस्था छ । तर दुवैको अवस्था अहिले एकैखाले भएको छ । व्यवसायीहरूका अनुसार चाँदी मगाए पनि त्यो तत्कालै बिक्री भइहाल्ने गरेको छ ।
लगानीको अन्य विकल्प नभएकाले सानाठूला सबैखाले लगानीकर्ताले सुनचाँदीमा पैसा हाल्ने क्रम बढेको छ । ‘गरगहना र हस्तकलाका लागि भन्दा पनि लगानीका लागि सुनचाँदीको माग उच्च छ । त्यही कारण अहिले आयात भएजति सुनचाँदी बिक्री भइहाल्ने गरेको,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यले बताउनुभयो ।
महासचिव बज्राचार्यले तिहारका लागि आवश्यक चाँदी बजारमा नपाएको गुनासो आएको बताउनुभयो ।
‘अहिले बजारमा सुनचाँदीको माग उच्च छ । सुनभन्दा पनि चाँदीको माग धेरै छ । ग्राहकले सुरक्षित लगानीका रुपमा काँचो सुन र चाँदी खरिद गरेर राख्न थालेका छन् । तिहारका लागि व्यवसायीले चाँदी किन्न नपाइरहेको अवस्था छ । त्यसैले यी समस्याहरुको समाधानका लागि महासंघले नेपाल बैंकर्स संघसँग छलफल गर्ने तयारी गरिरहेको” उहाँले जानकारी दिनुभयो ।
अहिले नेपाली बजारमा सुन प्रति तोला दुई लाख ३९ हजार २ सया रुपैयाँ पुगेको छ भने चाँदी तीन हजार २५ रुपैयाँ पुगेको छ । विशेष कुरा के छ भने, चाँदीको मूल्य वर्ष दिनमै दोब्बर भइसकेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार सुनचाँदीको मूल्य रोकिने कुनै संकेत देखिएको छैन । नेपाली बजारमा छिट्टै सुनको मूल्य तीन लाख रुपैयाँ पुग्ने प्रक्षेपण हुन थालेको छ ।



