आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोला २ हजार ९ सय ३० रुपैयाँ कायम भएको छ । उक्त सुनचाँदीको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
जहाँसम्म यस समयमा सुनचाँदीमा लगानी गर्न उपयुक्त हो वा होइन भन्ने प्रश्न सबैमा छ । पछिल्ला कयौं महिनाहरूदेखि सुनचाँदीको मूल्य क्रमिक रूपमा बढ्दै गएको छ । यही आधारमा केही ढिलाइ भए पनि लगानीका लागि अझै उपयुक्त समय वाँकी नै छ भन्ने निर्क्योल गर्न सकिन्छ।
हाल सुनचाँदीको अत्यधिक मूल्य वृद्धिलाई भने निम्न विभिन्न कारणहरुको संयोजन मान्न सकिन्छ ।
१) केन्द्रीय बैंकहरूको व्याजदर कटौती :
यही सेप्टेम्बर महिनामा अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले अनुमान गरिए बमोजिम ०.२५ % ले व्याजदर घटाएर ४ देखि ४.२५% व्याज दर कायम गरेको छ ।
अमेरिकाको मुद्रा स्फिति २.९० % वृद्धि भई बेरोजगार दर बढेपछि यस चुनौतिको सामना गर्न व्याजदर घटाइएको हो । विज्ञहरुले निकट भविष्यमै फेरि पनि थप व्याजदर कम हुने अनुमान गरेका छन्।
क्यानाडा, बेलायत, युरोपियन युनियन, अष्ट्रेलिया, मेक्सिको, रूस लगायत धेरै देशहरुका केन्द्रीय बैंकले पनि आर्थिक मन्दी सामना गर्न यो वर्ष व्याजदर घटाएका छन्। मुख्य रूपमा घट्दो व्याजदरको कारणले पनि उच्च प्रतिफलको लागि सुनचाँदीमा लगानी आकर्षित भएको हो ।
२) भूराजनीतिक कारण :
रूस युक्रेन युद्ध रोकिने कुनै गुन्जायस नदेखिनु अनि इजरायल र प्यालेस्टाइन बीचको युद्धमा लेबनान, यमन, इरान थप भई युद्ध लम्बिने संकेट देखिनुले गर्दा विश्व व्यापारमा असुरक्षा बढाएको छ। साथै भारत -पाकिस्तान तथा थाइल्याण्डर कम्बोडियाबीचको केही दिनको युद्धले थपेको असुरक्षाको असरले विश्व व्यापारको लयमा धक्का पुऱ्याएको छ ।
साथै उत्तर कोरियाको लगातारका मिसाइल परीक्षण लगायत क्षेत्रीय भूराजनीतिक तनाव उत्पन्न गरिरहेको छ ।
३) राष्ट्रपति ट्रम्पको नयाँ आर्थिक नीति :
अर्को तिर अमेरिकी राष्ट्रपति ट्रम्पले लिएका नयाँ राजनीतिक तथा आर्थिक दृष्टिकोण एवं संरक्षणवादी नीतिले विश्व बजार तरङ्गित भएको छ ।
विशेष गरी Reciprocal Tariff अन्तर्गत मेक्सिको क्यानडा, चीन ,युरोपियन युनियन, भारत, आसियान राष्ट्रहरु सहितलाई बढाइएको १००% सम्मको भन्सार वृद्धिले विश्व व्यापारमा अवरोध एवं चुनौती थपेको मात्र होइन अस्थिरता पैदा गरेको छ।
राष्ट्रपति ट्रम्पको अमेरिकी केन्द्रीय बैंकलाई व्याजदर घटाउने निरन्तर दबाब ,सुनमा प्रत्यक्ष कर नलगाउने घोषणा एवं धनी ठूला करदाताहरूको कर दर घटाउने संभावित योजनाले पनि सुरक्षित प्रतिफलको लागि सुनचाँदीको माग बढाउने देखिन्छ।
४) केन्द्रीय बैंकहरुको सुन खरीदमा वृद्धि :
वर्ल्ड गोल्ड काउन्सिलका अनुसार गत वर्ष २०२४ मा विश्वका केन्द्रीय बैंकहरुले १०४५ टन खरीद गरेका छन् । विगत केही वर्ष देखि लगातार केन्द्रीय बैंकहरुले प्रत्येक वर्ष १००० टन हाराहारी सुन खरीद गर्दै संचिति बढाइ रहेका छन्। यसले पनि सुनको माग बढाउन र भाउ उकास्न सहयोग गरिरहेको छ ।
५) ब्रिक्स राष्ट्रहरुको चुनौति :
चीन, भारत ,रूस, ब्राजिल, दक्षिण अफ्रिकालगायतका ब्रिक्समा आबद्ध देशहरू विश्व व्यापारमा डलरको निर्भरता कम गर्न ( De -Dollarisation गर्न ) आपसी सहयोग र सक्रियता बढाएको हुनाले भविष्यमा डलर थप कमजोर बन्न सक्ने सम्भावना बढेको छ।
साथै ब्रिक्समा आबद्ध चीन,भारत, रुस लगायतका देशहरुका केन्द्रीय बैंकहरूले अत्याधिक मात्रामा सुनको सन्चिति बढाएका छन् ।
अर्कोतिर चीनले आफ्नो देशका बीमा कम्पनीहरूलाई १% सम्म सुनमा लगानी गर्न सक्ने नयाँ नीति बनाएको कारण । यो सिजनको सुरुमै २०० अर्ब युआन बरावरको सुनको माग वृद्धि हुने देखिएको छ ।
डलर र स्टक मार्केटसंग सुनको विपरीत सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा De – Dollarisation रणनीतिले सुनचाँदीको मूल्य वृद्धिलाई सघाउने देखिन्छ ।
सुनचाँदी सधैं सुरक्षित लगानीका रूपमा परिचित रहिआएको छ। यद्यपि, कुनै पनि लगानी क्षेत्र पूर्ण रूपमा जोखिममुक्त हुँदैन। छोटो अवधिमा मूल्यमा उतारचढाव देखिए पनि, दीर्घकालीन रूपमा सुनचाँदीले स्थिर र लाभप्रद प्रतिफल दिने प्रमाणित तथ्यहरू रहेका छन्। यही कारणले, धेरै विशेषज्ञहरूले यसलाई ‘रक्षात्मक लगानी विकल्प’ (Defensive Investment Option) का रूपमा हेर्छन्।
विज्ञहरूको सल्लाह अनुसार, लगानी गर्न इच्छुकहरूले आफ्नै जोखिम सहनशक्ति, वित्तीय क्षमता र दीर्घकालीन दृष्टिकोणलाई ध्यानमा राखेर सुनचाँदी रोज्नु बुद्धिमानी ठहरिन्छ।
अन्तर्राष्ट्रिय लगानी सिद्धान्तहरूले पनि कुनै एकल क्षेत्रमा सारा पूँजी केन्द्रीत गर्नुभन्दा विविधिकृत लगानी (Portfolio Diversification) मा जोड दिन्छन्। प्रायः विज्ञहरूले सुनचाँदीमा कूल लगानीको ५-१० प्रतिशत सम्मको हिस्सा सुरक्षित रूपमा राख्न सुझाव दिने गर्छन्।
नेपालको सन्दर्भमा, सुनचाँदीको मूल्य घट्ने जोखिम अन्तर्राष्ट्रिय बजारको तुलनामा तुलनात्मक रूपमा कम हुने भएकाले, कूल लगानीको १०-२० प्रतिशतसम्म सुनचाँदीमा लगानी गर्नु सुरक्षित र व्यवहारिक मानिन्छ ।
– लेखक नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा सुनचाँदी दरभाउ निर्धारण समितिका संयोजक हुनुहुन्छ।



