संघसंस्थाको जीवन साधारणसभा मै निहित हुन्छ । समयमै साधारणसभा नगर्ने, आवश्यक बैठकसमेत नगर्ने तर जब व्यक्तिगत स्वार्थ या अवसर आउँछ, त्यही संस्थाको नाम मात्र बोक्दै ‘लासमा चढेर’ मञ्च र सुविधाको खोजी गर्नु अत्यन्त गलत परिपाटी हो ।
संस्थाले जीवन पाओस् भने समयमै साधारणसभा सम्पन्न हुनैपर्छ । जीवन बाँड्ने साधारणसभा छोडेर लासको बुई चढ्ने प्रवृत्ति संघसंस्थाको अस्तित्वकै लागि घातक हुन्छ ।
अब विभिन्न संघसंस्थाले साधारणसभा गर्ने तयारी गर्दैछन्। संघसंस्थाको विधानहरुमा ‘आर्थिक वर्षको समाप्ति पछि असोज मसान्तसम्म साधारण सभा हुनुपर्ने छ’ भन्ने बुँदा उल्लेख भएको नै हुन्छ। तर सरकारले पौष मसान्त सम्म साधारण सभा गर्नका लागि छुट दिने गर्दछ । तर पौष मसान्त पछि साधारण सभा भएमा जरिवाना लिने गर्दछ ।
त्यसैले विगत केही समयदेखि स्थगित रहेका साधारणसभा अब ढिला नगरी सम्पन्न गरिनुपर्छ । नेतृत्वले आफ्नो जिम्मेवारी निर्वाह गर्दै संस्थालाई नयाँ जीवन दिने अवसर यही हो ।
संघसंस्था त जीवन्त रहून्, नेतृत्वले समयमै पारदर्शिता देखाओस्, अनि सदस्यले गर्वका साथ आफ्नो संस्थामा सहभागी हुने वातावरण सिर्जना होस् यही सन्देश साधारणसभाले दिनुपर्छ ।



