चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्देशनमा आज बिहीवार विभिन्न जिल्लामा विलासिता कर सम्बन्धी तालिम सम्पन्न भएको छ ।
गत भदौं १६ गते सोमबार महासंघको प्रशिक्षण (तालिम),रोजगार तथा उद्योग समितिले प्रदेश अध्यक्षहरुलाई परिपत्र गर्दै जिल्ला तथा नगर संघहरुमा सक्रियतापूर्वक एक साताभित्र विलासिता कर सम्बन्धी तालिम सञ्चालन गर्न निर्देशन दिएको थियो ।

सो निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै महासंघ गण्डकी प्रदेश समितिले आन्तरिक राजस्व कार्यालय पोखराको सभाहलमा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला तथा नगर संघहरुलाई प्रतिनिधिमूलक विलासिता शुल्क सम्बन्धी जानकारी विषयक तालिम प्रदान गरिएको गण्डकी प्रदेश अध्यक्ष चन्द्र किशोर गौतमले बताउनु भयो ।

जिल्ला तथा नगर संघका करिब ८० जना प्रतिनिधिहरुलाई आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत युवराज भण्डारीले तालिम प्रदान गर्नुभएको प्रदेश अध्यक्ष गौतमले बताउनु भयो ।
त्यस्तै रौतहट सुनचाँदी व्यवसायी संघले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संघले २ प्रतिशत विलासिता शुल्क र १३ प्रतिशत भ्याटको कार्यविधि २०८२ सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम अनुष पार्टी प्यालेस, गरुडाको सभाहलमा सम्पन्न भएको कार्यक्रमका अध्यक्षता समेत गरेका संघका अध्यक्ष अरुण कुमार सोनीले जानकारी दिनुभयो । कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट सन्तोष सर्राफले प्रशिक्षण दिनुभएको अध्यक्ष सोनीले बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका अध्यक्ष रामजी साहको प्रमुख आतिथ्यता रहेको थियो भने महासंघका पदाधिकारी सदस्य प्रकाश गहतराजको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रम नेपाल सुनचाँदी रत्न आभुषण व्यवसायी संघ रौतहटको सहकार्यमा आयोजना भएको थियो ।
यता चितवन जिल्लामा भने जिल्लाभरका व्यवसायीहरुको सहभागितामा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले विलासिता कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पर्व व्याङ्क्वेट, कमलनगरको सभाहलमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष हेम बहादुर विश्वकर्माको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य बिक्रम खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई कर अधिकृत सुरेश बराली र डाटा इन्ट्री सुपरभाइजर (अधिकृत) प्रकाशजंग श्रेष्ठले सहजीकरण गर्नुभएको संघका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले राज्यले करको दायरा फराकिलो पार्नु स्वभाविक रहेको बतउनु भयो । उहाँले नेपाललाई सम्पत्ति शुद्धीकरणको “ग्रे लिस्ट” बाट हटाउन विलासिता कर लागू गरिएको बताउनुभयो ।
त्यसैगरी नवलपरासी सुनचाँदी व्यवसायी संघले कर सम्बन्धी प्रशिक्षण कार्यक्रम २०८२ सम्पन्न गरेको छ । संघका अध्यक्ष अर्जुन सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य भीमसिंह विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रम होटल एटलस भुमहीमा आयोजना भएको थियो भने कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट दीपक विश्वकर्माले प्रशिक्षण दिनुभएको संघका महासचिव देबेन्द्र वि.कले जानकारी दिनुभयो ।



