काठमाडौं । सुनचाँदी व्यवसायीका मागहरु जायज भएकाले सकेसम्म विभागले सम्बोधन गर्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले आश्वासन दिनुभयो ।
बुधबार राजस्व विभाग पुगेका नेपाल सुनचाँदी व्यवसायी महासंघका टोलीलाई महानिर्देशक चिलुवालले सो आश्वासन दिनुभएको हो ।

उहाँले राजस्व विभागले हचुवाको भरमा नभई सूचनाका आधारमा सुनचाँदी पसल तथा कारखानाहरुमा अनुगमन गरिएको बताउनु भयो । उहाँले व्यवसाय सञ्चालनको क्रममा विभागले तोकेका मापदण्डहरुको पालना गरी ढुक्कसँग व्यवसाय सञ्चालन गर्न पनि आग्रह गर्नुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यको नेतृत्वमा गएको टोलीले महानिर्देशक चिलुवालसँग भेटगरी सरकारले कर नीतिमा गरेको फेरवदलका कारण व्यवसायीहरुमा अन्यौलता कायम भएको बेला विभागले अनसन्धानको नाममा व्यवसायीहरुलाई दुःख दिएकाले अबउप्रान्त दुःख नदिन महानिर्देशक चिलुवालको ध्यानाकर्षण गराएका छन् ।
त्यसैगरी काठमाडौं, पोखरा, वीरगञ्ज र सर्लाही जिल्लामा भएको अस्वभाविक अनुगमनको भत्सर्ना गर्दै महासंघले विभागका महानिर्देशक चिलुवालको ध्यानाकर्षण गराएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यले बताउनुभयो । उक्त भेटमा प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदीप श्रेष्ठको उपस्थिति रहेको थियो ।



