पथलैया । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले मधेश प्रदेशका सुनचाँदी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य रोक्न राजस्व अनुसन्धान विभाग पथलैयालाई ध्यानाकर्षण गराएको छ ।
संघर्ष समितिका संयोजक विपिन रामुदामुको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका उच्च अधिकारीको ध्यानाकर्षण गराएको हो ।
छलफलका क्रममा विभागका प्रमुख हरिहर शर्माले राज्यको नीति नियम पालना गरी पेशा व्यवसाय गर्नेलाई अनावश्यकरूपमा दुःख दिने नीति विभागको नभएको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले तोकेको मापदण्डमा आधारित रही कारोबार गर्ने व्यवसायीलाई अनावश्यकरूपमा अनुसन्धानका नाममा दुःख दिने नीति विभागको छैन, राज्यले तोकेका नीति नियमको उल्लङ्घन गरेको अवस्थामा भने त्यसलाई छोड्न सकिँदैन ।’
संघर्ष समितिका संयोजक रामुदामुले सुनचाँदी क्षेत्रमा आवद्ध मधेश प्रदेशका व्यवसायीहरूलाई परेको समस्या तथा समस्या समाधानका लागि विभागले खेल्नुपर्ने भूमिका लगायतका विषयमा जानकारी गराउनुभयो।
छलफल क्रममा उहाँले सरकारले सुनचाँदी व्यवसाय क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै कार्यदल गठन गरेको र उक्त कार्यदलले नीति नियमका विषयमा छलफल गरिरहेको हुँदा अन्तिम निष्कर्ष नआउँदै व्यवसायीलाई धरपकड गर्ने, अनुगमनका नाममा त्रासदी पैदा गर्ने कार्य तुरुन्त रोक्न अनुरोध गर्नुभयो।
विभागले भदौं ९ गते हरिवन नगरपालिका वडा नं ११, सर्लाहीमा सञ्चालित पप्पु ज्वेलरी उद्योग र श्री जयकिशन ज्वेलर्समा अनुगमन गरेपछि मधेश प्रदेशका व्यवसायीहरूमा भय पैदा भएको थियो ।
यसैगरी सर्लाही, महोत्तरी र धनुषा जिल्लाहरूमा भदौं ९ गते भएको घटनाको विरोध गर्दै व्यवसायीहरूले व्यवसाय बन्द गरिरहेका छन्।




