सर्लाही । हरिवन नगरपालिका वडा नं ११, सर्लाहीमा सञ्चालित पप्पु ज्वेलरी उद्योग र श्री जयकिशन ज्वेलर्समा सोमबार राजस्व विभागले छापा मारेपछि घटनाको विरोध गर्दै सर्लाही सुनचाँदी व्यवसायी संघले भोलिदेखि व्यवसाय बन्दको घोषणा गरेको छ। संघले आज सोमवार विज्ञप्ति जारी बन्दको घोषणा गरेको हो ।
चाडपर्वको बेला राजस्व अनुसन्धान विभागले बजार आतंकित गरिरहेको र विभिन्न बहानामा व्यवसायीलाई दुःख दिएको संघका अध्यक्ष निरंजन कुमार साहले आरोप लगाउनुभयो ।
उहाँले व्यवसायीहरुको माग सम्बोधन नभएमा सुनचाँदी पसल आबद्ध रहेको सम्पूर्ण सरकारी निकायमा पसलहरु सधैंका लागि बन्द गर्ने चेतावनी दिएका छन्।
पप्पु ज्वेलरी उद्योग र श्री जयकिशन ज्वेलर्सबाट राजस्व अनुसन्धान विभाग पथलैया, बाराले बिलबिजकहरु नियन्त्रणमा लिएको छ । बिलबिजक विना सुनचाँदी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
यसअघि साउन २९ गते वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित गहवामाई मन्दिर नजिक सञ्चालित दिपसन एण्ड सानवी ज्वेलर्समा प्रहरीले छापा मारेको थियो । छापा मारिएको थाहा पाएपछि स्थानीय सुनचाँदी व्यवसायी र कालिगढहरूले घटनास्थलमा पुगेर प्रहरीविरुद्ध नाराबाजी समेत गरेका थिए ।




