मूल्य वृद्धिको असर : तीजमा सुनसान सुनचाँदी पसल

चितवन । नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको बेला यो वर्ष भने चितवनका सुनचाँदी पसलहरु सुनसान देखिएका छन् । नेपाली नारीहरुको महानपर्व तीज भोलिदेखि मनाइँदैछ । भोलि सोमबार “तीजको दर खाने दिन” रहेको छ ।

विगतका वर्षहरुमा तीज लाग्नुभन्दा महिनौं दिन अगाडिदेखि प्रायः चितवनको बालकुमारी चोक, मिलनरोड, शहीदचोकलगायतका सुन पसलमा किनबेच गर्नेको घुइँचो हुन्थ्यो । तीजको आसपासमा मात्रै चितवनमा दैनिक चार किलो सुन खपत हुन्थ्यो । व्यवसायीलाई पनि गहनाको अर्डर लिन भ्याइनभ्याई हुन्थ्यो । गहना बनाउन स्वदेशी तथा विदेशी कालिगढहरुलाई भ्याइनभ्याई हुन्थ्यो । तर, यो वर्ष सरकारको अव्यवहारिक कर नीति तथा निरन्तरको मूल्य वृद्धिका कारण चहलपहल ठप्प जस्तै भएपछि तीजमा पनि चितवनको सुनचाँदीको कारोबार सेलाएको छ ।

गत वर्ष तीजको समयमा प्रतितोला एक लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतवार एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । एक वर्षको अवधिमा सुनको मूल्य प्रतितोला ४४ हजार २ सय रुपैयाँले बढेको छ । यसले गर्दा पनि कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव समेत रहनु भएका सभ्यता ज्वेलर्स सुनचाँदी पसल, नारायणगढका संचालक टुलक प्रसाद विश्वकर्माले लगातार सुनको मूल्य बढ्दै गएको र उपभोक्ताको क्रयशक्ति न्यून हुँदा तीजको समयमा कारोबार बढ्न नसकेर बजार सुनसान अवस्थामा रहेको बताउनुभयो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता समेत रहनु भएका जीवनज्योति गहना उद्योग सुनचाँदी पसल, भृकुटीपथका संचालक जीवनज्योति विश्वकर्माको बुझाइमा सुनको मूल्य नेपालीको पहुँच बाहिर पुगेकाले अब चाडपर्वमा पनि मानिसले गहना नकिन्ने र नलगाउने अवस्था श्रृजना भएको छ ।

“सुन किन्ने मान्छे एकदमै कम छन्, व्यापार ठप्प छ, तीज आए जस्तो नै लागेको छैन”, उहाँले बताउनुभयो । “तीज सुरु हुनुभन्दा १५ दिन अघिदेखि सुन बजारमा चहलपहल हुन्थ्यो, तर यस वर्ष त्यस्तो छैन” उहाँले बताउनुभयो । पहिला तीजमा दैनिक १० देखि १५ तोलासम्म सुन बिक्री हुने उहाँको पसलमा यो वर्ष सिजनमा सुख्खा लागेको छ ।

त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका स्थायी आमन्त्रित सदस्य समेत रहनु भएका प्रमासाई ज्वेलर्स, मिलनरोडका संचालक शंकरईशु पोख्रेल(जुलेन) ले सुनचाँदीको मूल्य वृद्धिको असर सुनचाँदी व्यापारमा परेको बताउनुभयो । उहाँले तीजको यो सिजनमा पनि सुनचाँदीको कारोबार राम्रोसंग नभएको बताउनुभयो।

“पहिलाको तीजको सिजनमा छड्के तिलहरी, नौगेडी, जन्तर, हार र सिक्रीहरु बिक्री हुने गर्दथ्यो अहिले न्यूनतम् दश हजार मूल्य पर्ने ठप्पा हानेको सामानहरु बिक्री हुने गरेको” उहाँले बताउनुभयो । उहाँले मूल्य वृद्धिका कारण किन्नेभन्दा बेच्नेको संख्या बढ्ढो रहेको र सुनका सामाग्रीहरु बनाउने कालिगढहरु काम बिहीन भएको बताउनु भयो ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका महासचिव समेत रहनु भएका पदम ज्वेलर्स सुनचाँदी पसल, भृकुटीपथका संचालक गोपाल बहादुर वि.क थापाका अनुसार सुनको मूल्य कति पुगछ भन्ने अन्यौल अझै रहेकाले ग्राहकहरु सुन किन्न समेत हच्किएको बताउनुभयो । पसलमा दिनभरी रुँघेर बस्दा पनि नयाँ गहना बेच्न गाह्रो छ, बरु उल्टै ग्राहकबाट पुराना गहना किन्नु परेको उहाँले बताउनुभयो ।

न्यू लोकमान एण्ड सन्स सुनचाँदी पसल, मिलनरोडका संचालक निलेनमान शाक्य भन्नुहुन्छ “विगतका वर्षहरुमा सुनको कारोबारमा महिलाहरुबीच प्रतिस्पर्धा नै चल्थ्यो । दैनिकजसो गहना बनाउनकै लागि पसलहरुमा थामिनसक्नु घुइँचो हुन्थ्यो। सुनको मूल्य पनि मध्यम खालकै हुन्थ्यो । तर अहिलो गहना उपभोग गर्ने प्राय महिलाहरु विदेशिएका छन् । पछिल्लो समय सुनको दरभाउ अत्यधिक बढेपछि कारोबार पहिलाको तुलनामा ९० प्रतिशतले कम भएको छ।”

“अहिले सुन खरिद भन्दा पनि बिक्री गर्ने बढि आएका छन्, पहिला–पहिला तीजको सिजनमा रानीहारहरु विक्री हुनेमा अहिले सानो तिलहरी र ठप्पा सामानहरु बिक्री भएका छन्।” उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय