नेपाल सुनचाँदी व्यवसायी महासंघले भारतको मुम्वइमा आयोजना हुने “इण्डिया इन्टरनेसनल ज्वेलरी शो (आइआइजेएस)-२०२५” मा सहभागी हुन इच्छुक व्यवसायीहरुलाई नाम दर्ता गर्नका लागि बुटवल सुनचाँदी व्यवसायी संघलाई पनि पत्र प्राप्त भयो । संघका व्यवसायी साथीहरुसँगै यसपटक भारतको मुम्वइमा आयोजित “इण्डिया इन्टरनेसनल ज्वेलरी शो (आइआइजेएस)-२०२५” मा सहभागी हुने योजना तय भयो ।
२०८२ साउन १४ गते यात्रा प्रारम्भ गर्ने दिन थियो । बुटवलको योगीकुटीस्थित BLACK FOREST CAKE SHOP बाट नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा संघका निवर्तमान अध्यक्ष श्री दिपक कुमार विश्वकर्माज्यू र उपाध्यक्ष श्री कृष्ण बहादुर सुनारज्यूले खादाप्रदान गरी बिदाई गर्नुभयो । मिर्मिरे विहानीसँगै हामी १५ जनाको समूहले यात्रा प्रारम्भ गर्यौ ।
हाम्रो यात्रा शुरु भई सुनौली हुँदै गोरखपुर तर्फ लाग्यौ । करिब २ घण्टा ३० मिनेटको यात्रापछि हामी गोरखपुरस्थित महायोगी गोरखनाथ विमानस्थलमा पुग्यौ । केही समयको विश्रामपछि हामी हैदाराबादस्थित राजिब गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलतर्फ हाम्रो उडान शुरु भयो । करिब १ घण्टा ३० मिनेटको हवाई उडान पश्चात हामी हैदाराबादस्थित राजिब गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा सफल अवतरण गर्यौ । त्यहाँपनि केही समयको विश्राम पछि हाम्रो गन्तव्यस्थल भारतको मुम्वइको लागि उडान भयो । करिब २ घण्टाको उडानपछि मुम्वइस्थित छत्रपति शिवजी महाराज अन्तर्राष्ट्रिय बिमानस्थल सफल अवतरण गर्यौ । बिमानस्थल नजिकैको होटल द लिलामा बस्यौ । तर त्यहाँपुग्दा हामीहरुलाई छुट्टै किसिमको आभास भयो । त्यहाँको विकास, आम मानिसहरुको व्यस्त जीवन साथै भीडभाड मानिसहरु आ–आफ्नो काममा व्यस्त देखिन्थेँ।
जब हामी होटलमा पुग्यौं, त्यहाँको सुविधा र व्यवस्थापनले हामी चकित भयौँ । नेपाल तथा अन्य देशहरुबाट ज्वेलरी शो मा सहभागी हुन आएकाहरुलाई भोलीपल्ट कार्यक्रम स्थलतर्फ जाने यातायातको सुविधा बारे सूचना राती नै होटलले उपलब्ध गराएको थियो । दिनभरको यात्राको कारण हामी निकै थकित पनि थियौं । त्यसैले हामी चाँडै आ–आफ्नो शयन कक्षमा प्रवेश गर्यौ ।
अर्को दिन विहानको नास्ता ग्रहणगरी त्यस होटलबाट विहान १० बजे कार्यक्रम स्थलतर्फको यात्रा प्रारम्भ गर्यौ । करिब १ घण्टा ३० मिनेटको यात्रापछि हामी कार्यक्रम स्थलतर्फ पुग्यौं । ज्वेलरी शो मा विभिन्न स्टलहरु देख्न पायौ । साँच्चिकै सुनको मेला र बजार त त्यस्तो पो हुँदो रहेछ । त्यहाँ करिब ३ सय देखि ४ सय संख्यामा ज्वेलरी प्रदर्शन र गरगहनाहरु बनाउने र बहुमूल्य पत्थरहरुमा चेक गर्ने अत्याधुनिक प्रविधिका मेसिनहरु पनि प्रदर्शनीमा राखेको देखियो । त्यस प्रदर्शनी स्थलमा प्रवेशका लागि ठूलो सुरक्षा व्यवस्था थियो । विभिन्न मेसिनबाट चेक जाँच गरेपछि मात्र प्रवेश अनुमति थियो ।
त्यहाँको सुनचाँदीको बजार र त्यहाँ उत्पादन गरेका अत्याधुनिक गहनाहरुले किन नै विश्वकै गहना प्रेमी मानिसहरुको मन लोभ्याउथेन र ? त्यहाँ प्रदर्शनीमा राखेको गरगहना अवलोकन गर्नका लागि विभिन्न देश र भारत कै विभिन्न शहरहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त प्रदर्शनी स्थलमा करिब एउटा स्टलमा २० केजी देखि ५० केजी सम्म सुनका गरगहना बनाएर राखेको देखियो । अरबियन मुलुकबाट पनि उक्त स्थानमा स्टल राखिएको थियो । करोडौं अरबौं मूल्य पर्ने बहुमूल्य पत्थर हीराका गरगहनाहरु पनि देखियो । गहनाहरुको विश्व बजारलाई नियाल्दा सुन वा सेतो सुन (White Gold) बाट उत्पादन गरी बनाएका गरगहनाहरुलाई सायद अन्य देशमा उत्पादन हुँदैनन् जस्तो लाग्दछ । भारतमा निर्मित गहनाहरु विभिन्न किसिमका बुट्टाहरुले सजिएको देखियो । त्यसैले पनि भारतमा उत्पादन भएका गरगहनाहरुले विश्व बजारलाई समेट्न सफल भएको छ ।
हामीहरुले ति स्टलहरुमा गएर बुझ्दा जति पनि गरगहनाहरु प्रदर्शनीका लागि राखिएको छ आ-आफ्नो कम्पनीहरुले उत्पादन गरेको रहेछन्। ति सामानहरु मन परेर आफूले अर्डर गरेमा भारतीय नियमानुसार घर सम्म नै गहनाहरु पठाउने पनि व्यवस्था उक्त कम्पनीहरुले नै गर्ने रहेछन्।
कार्यक्रमको पहिलो दिन हामी नेपालबाट नेपाल सुनचाँदी व्यवसायी महासंघका चौंथो उपाध्यक्ष श्री पवनकुमार सोमानीज्यूको नेतृत्वमा बुटवल नगरसंघबाट १५ जना, रुपन्देही जिल्ला संघबाट ३ जनाको संख्यामा आयोजक टिम संगै औपचारिक रुपमा भेटघाट र मायाको चिनो आदान प्रदान गर्ने कार्य सम्पन्न गर्यौ । त्यहाँ बुटवल सुनचाँदी व्यवसायी संघको तर्फबाट आफ्नो विचारहरु प्रकट गर्ने अवसर मिल्यो । त्यसपछि कार्यक्रम संचालन भएको अवधिभर पूर्ण सक्रियरुपमा प्रदर्शनी अवलोकन गर्यौं । ज्वेलरी शो साउन १५ गतेदेखि १९ गतेसम्म संचालन भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा हामी मेलामा सहभागी भएका थियौं ।
ज्वेलरी शो मा नेपाल सुनचाँदी व्यवसायी महासंघका चौंथो उपाध्यक्ष श्री पवनकुमार सोमानीज्यूको नेतृत्वमा श्री विन्दिया सोमानीज्यू, श्री देव सुन्दर शाक्यज्यू, श्री सृष्टि शाक्यज्यू, श्री चुडामणी वि.कज्यू, श्री दल बहादुर रिसालज्यू, श्री इन्द्र बहादुर वि.कज्यू, श्री रामप्रसाद विश्वकर्माज्यू, श्री बलबहादुर वि.कज्यू, श्री लक्ष्मण वि.कज्यू, श्री रामलाल विश्वकर्माज्यू, श्री हर्ष बहादुर विश्वकर्माज्यू, श्री राजु बरालज्यू, श्री किशोर कुमार विश्वकर्माज्यू, श्री नुरापति अधिकारीज्यू, श्री दलमान मल्लज्यू, श्री टीकाराम अधिकारीज्यू, श्री शेर बहादुर गहतराजज्यू, श्री मिलन विश्वकर्माज्यू, श्री सुनिल सेन्चुरीज्यू, श्री सतिश कुमार कौशलज्यू र मेरो सहभागिता रहेको थियो ।
यस मेला अवलोकनले विश्व बजारमा सुनको व्यापारमा नयाँ आधुनिक किसिमका गरगहनाहरु व्यापार गर्ने तरिका बारेमा जान्न र बुझ्न पायौ । हामीलाई सहभागीता जनाउने अवसर प्रदान गर्नुहुने नेपाल सुनचाँदी व्यवसायी महासंघलाई विशेष आभार प्रकट गर्दछु ।
– लेखक बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुनुहुन्छ ।






