लमजुङ सुनचाँदी व्यवसायी संघको दशौँ वार्षिक साधारण सभा सम्पन्न

लमजुङ (सुन्दरबजार) । लमजुङ सुनचाँदी व्यवसायी संघको दशौँ वार्षिक साधारण सभा साउन ३१ गते शनिवार सम्पन्न भएको छ ।

संघका अध्यक्ष बमबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश उपसभापति रविन विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रम सुन्दरबजार नगरपालिका वडा नं ७, सुन्दरबजारमा अवस्थित बौद्ध गुम्बा तमु समाज हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा संघका अध्यक्ष विश्वकर्माले सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन आग्रह गर्नुभयो। नगदसरह सम्पत्तिको मान्यता भएको वस्तुलाई विलासिताका रूपमा व्याख्या गरिनु ठिक नभएको उहाँको तर्क छ ।

सरकारको अहिलेको कदमले सुनचाँदी, हीरा, जवाहरातको सिंगो व्यवसायलाई अनिश्चित भविष्यतर्फ धकेलिदिएको र सुनचाँदी तथा रत्न आभूषणमा कर लगाउँदा २५ हजार व्यवसायी मात्र प्रभावित नभई तीन लाख कालिगढ र तिनका आश्रितसमेत समस्यामा पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका उपसभापति रविन विश्वकर्माले सुनको आकासिँदो मूल्यले सुनचाँदी बजारमा पहिले नै मन्दी ल्याइसकेको अवस्थामा कर वृद्धिको यो व्यवस्थाले थप मन्दी सिर्जना गरेको बताउनुभयो।

उहाँले सुनचाँदीका गरगहना नेपालमा विलासिताको वस्तु नभएको तर्क राख्नुभयो। “यस्ता गरगहना जन्मदेखि मृत्युसम्म कुनै न कुनै रूपमा आफ्नो गच्छे अनुसार उपभोग गरिने संस्कृति, परम्परा र सामाजिक रीतिरिवाजको अभिन्न हिस्सा हुन्” उहाँले भन्नुभयो।

विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्दथ्यो तर अब सुन वा सुनका गरगहनामा विलासिता शुल्क लाग्ने भयो अर्थात् व्यवसायीबाट उपभोक्तामा हुने विक्रीमा एक तहमा मात्र २ प्रतिशत विलासिता शुल्क लाग्ने निश्चित जस्तै भएको उहाँले बताउनुभयो।

कार्यक्रममा सुन्दरबजार वडा नं ७ का वडाअध्यक्ष जयराम रेग्मी, महासंघ पूर्व केन्द्रीय सदस्य हरिबहादुर विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश सदस्य दिपक रामदाम, लमजुङ सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष गोपाल खाती, संघका पूर्व अध्यक्षहरु मनिलाल विश्वकर्मा, लालबहादुर विश्वकर्मा, निवर्तमान अध्यक्ष देब बहादुर विश्वकर्माले आफ्नो धारणाहरु राख्नुभएको थियो।

कार्यक्रममा संघका सचिव बलराम विश्वकर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष डिलबहादुर सुनारले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर सुनारले स्वागत मन्तव्य गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय