वीरगञ्जमा अवस्थित सुनचाँदी पसलमा प्रहरीको छापा, व्यवसायीको आपत्ति

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित गहवामाई मन्दिर नजिक सञ्चालित दिपसन एण्ड सानवी ज्वेलर्समा बिहीबार प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोलीले दिउँसो करिब २ः३० बजे सो पसलमा प्रवेश गरी करिब तीन घण्टासम्म छानबिन गरेको हो । प्रहरीका अनुसार बिलबिजक विना सुनचाँदी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको हो ।

छानबिनका क्रममा सञ्चालक दीपक सर्राफसँग खरिद–बिक्रीका बिलबिजक माग्दा प्रस्तुत विवरणमा कैफियत देखिएको प्रहरीले जनाएको छ । खरिद गरिएको सुनको परिमाण बिक्रीभन्दा बढी देखिए पनि मौज्दात अनुसार सुन नभेटिएको भन्दै प्रहरीले आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई बोलाएर थप अनुसन्धानका लागि बिलबिजक जिम्मा लगाएको थियो ।

तर, पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सर्राफले भने प्रहरीमाथि कार्यक्षेत्र नाघेको आरोप लगाएका छन् । उनले राजस्व कार्यालयको काम प्रहरी आफैंले गरेको भन्दै आपत्ति जनाउँदै भने, “प्रहरीले सूचना पाएको भए सम्बन्धित निकाय तथा व्यवसायीसँग समन्वय गर्नुपर्थ्यो । यस्तो छापा त सरासर ज्यादती हो।”

यस क्रममा छापा मारिएको थाहा पाएपछि स्थानीय सुनचाँदी व्यवसायी र कालिगढहरूले घटनास्थलमा पुगेर प्रहरीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय