गत शुक्रबार पोखरा महानगरपालिका वडा नं २, ३, ४ र ९ का वडा एरियाहरुमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा दिउँसो ४ बजेको समयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी कार्यालयहरुबाट संयुक्त रुपमा एकाएक छापामारी पोखरामा कार्यरत ११ जना विदेशी (बंगाली) कालिगढहरुलाई नियन्त्रणमा लिएर उनीहरुले विभिन्न पसलहरुको गरगहना बनाइरहेको ६ किलो ४ सय ग्राम सुन र ४ सय ४४ तोला चाँदी बरामद गरेको छ ।
थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल चलान गरि सकेको अवस्था छ । उक्त विभागले जफत गरिएका सुनचाँदीका गरगहनाहरु बुटवल सुनचाँदी व्यवसायी संघ मार्फत सुनचाँदीको मुल्याङ्कन गराइसकेको छ र अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको भन्ने जानकारी आएको छ ।
यो घटनाले सबै सुनचाँदी वृत्तको ध्यान खिचेको छ । बंगाली कालिगढहरु नियन्त्रणमा लिने र उनीहरूसंग भएको बहुमूल्य धातुहरू सुनचाँदीको खानतलास गर्ने क्रममा अपनाइएको शैली आवश्यकताभन्दा बढी आक्रामक रहेकोमा देशभरका सुनचाँदी व्यवसायी तथा कालिगढहरुले असन्तोष व्यक्त गरेका छन् । न्यायिक छानबिनका लागि अनुरोध गर्दै, अनुसन्धानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, दोषीलाई प्रकियामा लगेमा आपत्ति नरहने धारणा राख्दै निर्दोषलाई तुरुन्त रिहा गर्न सुनचाँदी सम्बद्ध विभिन्न संघसंस्थाहरुले अपिल गरेका छन् ।
यस घटनाप्रति देशभरका व्यवसायी, कालिगढ र यस क्षेत्रसंग सम्बन्धित सबैको ध्यानकेन्द्रीत हुन स्वभाविक होला तर राज्यको यो तरिका र शैलीले देशभरका सुनचाँदी व्यवसायी र कालिगढमा ८ रेक्टरको कम्पन ल्याएको अनुभूति भएको छ । यसले देशभर त्रास फलाएको छ सबैले असुरक्षित महसुस गरिरहेका छन् ।
सामाजिक सञ्जालमा पोष्ट फुटेज हेर्दा प्रहरीले खाद्य सामाग्री राखिएको भाँडा बर्तन देखि लत्ताकपडा समेत छरपस्ट पारेर खानतलासी गरिएको देखिन्छ । उक्त घटनामा सुरक्षा संयन्त्रले अपनाएको शैली हेर्दा र अलि संयमता अपनाउनु नसकेको जस्तो देखिन्छ । यो घटनाको सुरक्षा संयन्त्रले सामान्य मानव अधिकार र मानवीय संवेदनाको आवश्यक ख्याल राख्न नसकेको भन्ने पीडित पक्षको भनाई छ ।
यस घटनाप्रति सम्बन्धित सबै तह तक्पा समयमै सचेत जागरुक हुनु जरुरी छ । पोखराबाट लागेको यो आगो भोली देशेैभर डढेलो जस्तै फैलिन सक्ने सम्भावना रहन्छ । राज्यले साच्चिकै यस प्रकारको घटना मार्फत देशभरका सबै क्षेत्रका संभावित अनियमितता माथि निगरानी राख्न र सुशासन कायम गर्न चाहेको हो भने दुईवटा विषयमा ध्यान दिनुपर्छ जस्तो लाग्छ ।
अन्य क्षेत्रमा जस्तै नियमनकारी निकायहरुले सुनचाँदी क्षेत्रमा पनि अनुगमन र निगरानी बढाउन चाहेको हो भने सबैभन्दा पहिले सुनचाँदी व्यवसायिक क्षेत्रलाई आवश्यक परिमाण बराबरको कच्चा पदार्थ स्थानीय स्तरबाट सुलभ दरभाउमा सहजरुपमा उपलब्ध गराउनुपर्छ। तर अहिले राज्यले आवश्यक वैद्य कच्चापदार्थ उपलब्ध नगराई धमिलो पानीमा माछा मार्न पल्केका समूहको लागि ठूलो लुप होल र स्पेस छोड्दा त्यहिँबाट चुहावट हुन सक्ने अवस्था रहन्छ । तसर्थ पहिला मुहानलाई शुद्धीकरण, अनुसन्धान र निगरानी राख्नुपर्नेमा टुटी भाच्दै हिँडेर समाधान हुँदैन ।
सुनचाँदी कारोबारलाई नियमनको लागि आवश्यक नीति विधि निर्माण गरेर मापदण्ड दिएपश्चात् मात्र त्यस सम्बन्धी व्यवसायी र कालिगढलाई आवश्यक प्रशिक्षण र सचेतना कार्यक्रम गरि सो नियम कानुनको अधिनमा रहेर आ–आफ्नो व्यवहार गरेको छ कि छैन अनुगमन गर्ने, अनुसन्धान कार्य गर्दा मात्र ट्रयाकमा छ कि छैन थाहा हुन सक्छ ।
यहाँ त आउने साधन स्रोतको बाटो चाहिँ दिनानुदिन साँघुरो बनाउँदै लग्ने र सवारीहरुलाई अनियन्त्रित रूपमा छोडे भने बाटो जुनसुकै र जस्तोसुकै भएपनि गन्तव्य पुग्न सक्छन । त्यसैले बाटो आवश्यकता अनुसार विस्तार गरेर मात्र अनुगमनलाई कडाइ गर्नुपर्छ भने जस्तै सर्वप्रथम सेवा–सुविधा, साधन श्रोत, नीति विधि र मापदण्ड उपलब्ध गराएपछि मात्र गतिविधि साँध सीमा भित्र छ कि छैन अनुगमन गर्ने, नियमन गर्ने हो, सीमा तोडेको हो होइन अनुसन्धान गर्ने हो । यो सर्वमान्य सहि तरिका भई राखेको छ छैन संशय गर्ने ठाउँ प्रशस्त छ ।
अपरेसन एल्लो मेटल यो एउटा प्रतिनिधि घटना मात्र हो । विश्लेषकहरूले सुनचाँदी व्यवसायप्रति राज्यको व्यवहार अलि असहिष्णु छ र दृष्टिकोण पूर्वाग्रहपूर्ण छ भन्ने गरेका छन्। चोरीजन्य घटनामा गरिने व्यवहारदेखी देश “ग्रे लिस्ट” मा परेको सन्दर्भमा सम्पत्ति शुद्धीकरण र विलासिता कर लागू गराउने सवालमा पहिलो टार्गेट सुनचाँदी क्षेत्र परेको छ । त्यसैले सुनचाँदी क्षेत्रले गरेको यस्तो अनुभूति सहि होइन भने राज्यले सबै आफ्ना दायित्व र जिम्मेवारीलाई पूरा गर्दै राज्यसँग प्रत्यक्ष परोक्ष जोडिएका सबै तह तप्कालाई गर्ने व्यवहार तथा दृष्टिकोणमा एकरुपता हुनुपर्छ साथसाथै सुनचाँदी क्षेत्रपनि आफ्नो ठाउँमा जवाफदेहि बन्नुपर्छ नै ।
नेपाली माटो र मनसंग लामो समयदेखी जोडिएर रहेका भारतीय मूलका कालिगढहरु माथि न्यायिक छानबिन होस्, सत्य, तथ्य सार्वजनिक गरियोस् । न्याय नमरोस्, वास्तविक अपराधी नउम्कियोस् तर निर्दोष संजायको भागिदार हुन नपरोस् ।
-लेखक नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव हुनुहुन्छ ।



