पोखरा। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरगहना निर्माण व्यवसाय गर्दै आएका ११ जना बंगाली कालिगढहरूलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
गण्डकी प्रदेशका सभापति चन्द्र किशोर गौतमले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै गत शुक्रवार व्यवसाय गर्दै आएका ११ जना बंगाली कालिगढहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे घटनाप्रति महासंघ गण्डकी प्रदेशले ध्यानाकर्षण भएको जनाएको हो ।

‘बरामद गरिएको सुनचाँदी जस्ताको त्यस्तै फिर्ता गरी कालिगढहरूलाई तुरून्तै रिहाई गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको ,’जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
“हामी सरकारले प्रस्तुत गरेको आ.व. २०८२/०८३ को बजेटको सन्दर्भमा आन्दोलनमा छौँ, व्यवसायी र सरकारको वार्ता टोली वार्तामा बसीरहेको छ, यस अवधिमा कुनै प्रकारका अनुगमन तथा छापा मार्न पाइँदैन” जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
संविधानले दिएको नागरिक र मजदुरको स्वतन्त्र काम गर्न पाउने, बस्न पाउने अधिकार हनन हुनेगरी प्रहरीले अपरेसन एल्लो मेटल नाम दिएर बंगाली कालिगढहरूलाई अभद्र व्यवहार गरेको जारी विज्ञप्तिमा जनाइएको छ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघ कालिगढ व्यवस्थापन समितिले उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

समितिका संयोजक ध्रुव कुमार गहतराजले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै अविलम्ब सत्य तथ्य बुझी दोषी देखिएको खण्डमा मात्र कारवाही प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ।
साथै समितिले नेपालको प्रचलित कानुन अनुसार निश्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।



