सुनचाँदी व्यवसायी तथा कालिगढद्वारा अपरेसन एल्लो मेटलको ध्यानाकर्षण

चितवन। पोखराको मोरियाटोल, भैरवटोल, चिप्लेढुंगा, पृथ्वीचोकबाट ११ जना बंगली कालिगढहरूलाई धरपकड गर्दै अवैध सुनचाँदी कारोवारमा संलग्न रहेको भनि नियन्त्रणमा लिएपछि देशभरका सुनचाँदी व्यवसायी तथा कालिगढहरूले ध्यानाकर्षण भएको जनाएका छन्।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति र नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको ध्यानाकर्षण गरेका हुन्।

अधिकांश बंगाली कालिगढहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट दर्ता अनुमति लिएर व्यवसाय गर्दै आएका र कतिपयले केबल ज्याला मजदुरी स्वरूप अरूको सुन लिएर गरगहना निर्माण गर्ने गरेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव निर बहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

“नेपालको प्रचलित कानुन बिपरित व्यक्तिको निजि सम्पत्तिको स्वामित्व समेतलाई हवला दिँदै, कालिगढका श्रीमतीहरुले लगाएको गहनाहरु समेत ‘समान बरामद’ को नाममा उठाएर लगेको, व्यवसायीहरुले गहना बनाउन दिएको चलानी बिललाई समेत आधिकारिक मान्यता नदिई खानतलाशीको नाममा खाना पकाउने भाडाकुडा र लत्ताकपडा छरपस्ट पारिएको र सि.सि. क्यामेरासमेत बन्द गर्न लगाई जुन किसिमको धरपकड भएको छ, यो अमानवीय र निन्दनिय छ” नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक विपिन रामुदामुले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

विधिपूर्वक सुनचाँदी गरगहना निर्माणको कारखाना दर्ता गरि गरगहना निर्माण तथा उत्पादन गर्ने कालिगढहरुलाई नेपाल प्रहरीले विशेष अनुगमनको नाममा बर्बरतापूर्ण तरिकाले नियन्त्रणमा लिएको प्रति नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघका केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्माले विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति प्रकट गरेका छन्।

घटनाको विरोध गर्दै आज पोखरामा सुनचाँदी कारखानाहरु बन्द रहेका छन् भने बंगाली कालिगढहरूले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा धर्ना दिएका छन्।

प्रहरीले अवैधको संज्ञा दिँदै “अपरेसन एल्लो मेटल” अभियान अन्तर्गत उनीहरुको साथबाट ६ किलो ४ सय ग्राम सुन र ४ सय ४४ तोला चाँदी बरामद भएको शनिवार पत्रकार सम्मेलनमा जानकारी दिएको थियो।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले प्रहरीको “अपरेसन एल्लो मेटल” को खेद प्रकट गर्दै चितवनका बंगाली कालिगढ तथा कारखाना संचालकहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय